गठबन्धनभित्र अझै मिलेन भागबन्डा, यी ६ महानगरमा बार्गेनिङ

केन्द्रभाग मिडिया

काठमाडौं।

स्थानीय निर्वाचनको मिति नजिक आइरहँदा सत्ता गठबन्धनमा अझै तालमेल हुन सकेको छैन । निर्वाचनमा तालमेल गरेरै जाने निर्णय लिएको गठबन्धनभित्र भागबन्डा नमिल्दा देशका ६ महानगरमा दलहरुबीच बार्गेनिङ चलिरहेको खुलासा भएको छ ।

पाँच दलीय गठबन्धनले निर्वाचनको तयारीका लागि र तालमेलको मोडालिटी बनाउनको लागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति बनाएको छ । सो समितिले पनि कुन स्थानीय तह कसले लिने भन्नेमा कुरा नमिल्दा सो समितिले तालमेलको मोडालिटी बनाउन सकेको छैन ।

आज समितिको बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । सम्भवत् आजको बैठकले मोडालिटी बनाउने आशा गरिएको छ।

भागबन्डाको विषयमा सबैभन्दा बढी समस्या महानगरपालिकामा पाइएको छ । देशका ६ वटा महानगर काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर, पोखरा र विरगन्ज महानगरपालिकामा कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपाले बार्गेनिङ गरिरहेका छन् ।

कांग्रेस यसअघि २०७४ सालमा जितेका ललितपुर र विराटनगर नछाडी काठमाडौं समेत लिने दाउमा छ । माओवादीले भरतपुर र पोखरालाई ताकिरहेको छ भने नेकपा एसले पोखरा र ललितपुरमा दाबी गरिरहेको छ ।

जसपाको दाबी भने वीरगन्जसहित विराटनगरमा पनि छ । भरतपुरमा नेपाली कांग्रेस यसपाली दाबी नछाड्ने बताइरहेको छ । कांग्रेसलाई सहयोग नगरे परिणाम फरक आउन सक्ने समेत चितवन कांग्रेसका नेताहरुले चेतावनी दिइरहेका छन् ।

  • २७ चैत्र २०७८, आईतवार ०९:५६ प्रकाशित