काठमाडौं ।
स्थानीय तह निर्वाचन आउन अब ३५ दिन बाँकी छ । आगामी बैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनको आचार संहिता आज मध्यरातिदेखि लागु हुँदैछ ।
निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदानको दिनसम्म कार्यान्वयन हुने गरि आचार संहिता लागू गर्न लागेको हो । निर्वाचनमा सहभागि हुने दलहरुले आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गराइसकेका छन् ।
यद्यपि नेकपा एमालेले भने केही आचारसंहिता कानुन बाँझिने खालको रहेको भन्दै हिजो ६ बुदेँ लिखित असहमति पत्र आयोगलाई बुझाएको छ।
के गर्न पाइन्छ/के पाइदैन ?
आचारसंहिता लागु भएपछि कुनै पनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार प्रसार गर्न पाउने छैनन् । स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेला लगायतका काम गर्न पनि बर्जित हुन्छ । कुनै कार्यक्रम गर्नुभन्दा ७२ घण्टा अगाडि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्नेछ ।
यसैगरी योजनाको शिलान्यास, उदघाटन, सर्वेक्षण लगायतका काम गर्न पनि पाइँदैन । यसैगरी कुनै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापन लगायतका काम गर्न पनि पाइँदैन, गर्नै परे निर्वाचन आयोगको अनुमति लिनुपर्छ ।
दलको निर्वाचन चिह्न, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट, झोला लगायत पनि बोक्न हुँदैन । तर उम्मेदवारले ‘ए–फोर’ आकारको कागजमा आफ्नो व्यक्तिगत विवरण खुलाएर वितरण गर्न भने मिल्छ । निर्वाचन प्रचारप्रसारको काम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइनेछ ।
प्रचार प्रसारका लागि हेलिकप्टर प्रयोग गर्न पाइन्छ तर दुई दलका मुख्य प्रचारकमात्र हेलिकप्टरमा हुनुपर्छ । तर साइकल, रिक्सा, ठेलागाडा,बयलगाडा, टाँगा लगायतका सवारी साधन चुनाव प्रचारमा प्रयोग गर्न भने नपाइने निर्वाचन आचार संहितामा उल्लेख छ ।
आचारसंहिता सरकार, निजी क्षेत्र, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार माध्यम, गैरसरकारी संस्था, विद्यालय, विश्वविद्यालय, शिक्षक, कर्मचारी तथा मतदातालाई समेत लागु हुने निर्वाचन आयोगले जनाएको छ ।