पोखरा ।
आजदेखि अन्तर्राष्ट्रिय प्याराग्लाइडिङको छाता संस्था (एफएआई) बाट मान्यता प्राप्त नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिपको २०औँ संस्करण सुरु हुँदैछ । आज देखि सुरु हुने प्रतियोगिता २५ चैतसम्म सञ्चालन हुनेछ ।
नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजना, नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोगमा प्रतियोगिता गर्न लागिएको हो ।
प्रतियोगिताका संयोजक बलराम आचार्यका अनुसार एफएआईका अन्तर्राष्ट्रिय च्याम्पियनसिप, नेपालमा हुने प्याराग्लाइडिङ वल्र्डकप तथा प्रि–वल्र्डकप र पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको तयारीका लागिसमेत प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
प्याराग्लाइडिङको एक्युरेसी विद्यातर्फ विभिन्न चार विधामा महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन् । त्यसैगरी प्रतिस्पर्धाअन्तर्गत ल्याण्डिङ ओभरअलको प्रथम, द्वितीय, तृतीय र सान्त्वनातर्फ हुने खेलाडीले क्रमश नगद रु ५०, ३०, २० र १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ। महिलातर्फ भने सो विद्याअन्तर्गत प्रथम, द्वितीय, तृतीय र सान्त्वनातर्फ हुने खेलाडीले क्रमश नगद रु ३०, २०, १० र पाँच हजार प्राप्त गर्नेछन् ।
अन्य विधातर्फको एक्युरेसी टेन्डम पुरुषअन्तर्गत प्रथम, द्वितीय, तृतीय र सान्त्वनातर्फ हुने खेलाडीले क्रमश नगद ३०, २०, १० हजार रुपैयाँ र पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् भने एयर शोतर्फ वेष्ट एक्रोबेटिक शोतर्फ प्रथम हुनेले नगद १५ हजार, दोस्रोले नगद १० हजार र तेस्रो हुनेले नगद पाँच हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र गर्नेछन् । त्यसैगरी वेष्ट कस्टुयुमतर्फ पुरस्कार प्रदान गरिने छ । उक्त प्रतियोगितामा वेष्ट कस्टुयुमतर्फ नगद १० हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगितामा झण्डै १०० जना खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ । नका अनुसार पोखरामा व्यावसायिकरूपमा सञ्चालन भएका ६० भन्दा बढी कम्पनी छन् र करिब ५०० को हाराहारीमा प्याराग्लाइडिङ पाइलट छन् । कोरोनाका कारण प्रभावित पर्यटनलाई अघि बढाउन प्रतियोगिताले महत्वपूर्ण सहयोग पुग्ने जनाइएको छ ।
प्रतियोगिता सम्पन्न गर्न ३० लाख खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिताको आज विहान १० बजे पोखरा १८ सराङकोटमा एक कार्यक्रम बिच शुभारम्भ गरिनेछ । २५ चैत शुक्रबार मध्याहन्न १२ बजे पोखरा १८ कै खपौंदीमा समापन गरिने कार्यक्रम संयोजक आचार्यले जानकारी दिए ।