दुई करोडको लागतमा डि जानकी एग्रो फार्म सञ्चालन (भिडियोसहित)

केन्द्रभाग मिडिया

पोखरा

करीब दुई करोडको लागतमा डि जानकी एग्रो फार्म प्रालि पोखरामा सञ्चालनमा आउने भएको छ । भैंसीपालक किसानका रुपमा परिचित जानकी एग्रो फार्म प्रालिका सञ्चालक युवा कृषि उद्यमी तिमिल्सिनाले विश्वबैंक र नेपाल सरकारसँगको अनुदान सहयोगमा १ करोड ९५ लाख ८१ ह्जार ८ सय ३३ रुपैयाँको लागतमा सो फार्म सञ्चालनमा ल्याउन लागेका हुन् ।

पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित राती खहरेमा स्थापपित फार्म सञ्चालनका लागि नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाइभ स्टक सेक्टर ईन्नोभेसन आयोजना (एनएलएसआइपी)ले अनुदान स्वरुप ९७ लाख ९० हजार ९ सय १७ रुपैयाँ लगानी गर्नेछ । नवील बैंकबाट ६० लाख रुपैयाँ र तिमिल्सिनाले ३७ लाख ९० हजार ९ सय १६ रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार आगामी ३ पुस २०७९ मा उक्त फार्म सबै मापदण्ड पुरा गरेर सञ्चालनमा ल्याइसकेको हुनुपर्ने छ ।

फार्मको प्रथम सर्वजनिक सार्वजनिक सुनुवाई सोमबार भएको छ । आयोजना स्थलमै आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा एनएलआईसीका प्रतिनिधि, पोखरा–१५ का वडाध्यक्ष, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, पशु विज्ञ केन्द्र तथा जिल्ला पशु स्वास्थ्य कार्यालयका प्रतिनिधिहरुको सहभागिता थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै एनएलएसआइपीका प्रतिनिधि डा. रेसमराज ज्ञवालीले उत्पादन, संकलन र प्रशोधनका लागि देशभर ८५ वटा फार्म छनौट गर्दा डि जानकी एग्रो फार्म प्रालि परेको जानकारी दिए । उनका अनुसार प्रतिष्पर्धा गरेरै सो फार्म छनौटमा परेको हो । उनले फार्म सञ्चालनका लागि राती खहरे उपयुक्त भएको बताए । अब फार्ममा वातावरण स्वच्छ राख्ने, हरियाली प्रवद्र्धन गर्ने, गोबर ब्यबस्थापन गर्नुका साथै घाँस प्रशस्त मात्रामा लगाउन उनले सुझाव दिए ।

फार्म सञ्चालक दीपकप्रसाद तिमिल्सिनाले सरकारको अनुदानमा फार्म सञ्चालन गर्न पाउँदा आफू खुशी भएको बताए । ‘पैसा कमाउन विदेश जानु पर्दैन । स्वदेशमैपनि पशुपालन वा कृषि कर्म गरेर स्थापित हुन सकिन्छ भन्ने दृढ विश्वास जागेको छ’ उनले भने । उनले उत्पादकत्व बृद्धि गर्ने, गुणस्तर कायम गर्न आफू प्रतिवद्ध रहेको बताए । नाफा मात्रै कमाउने उद्धेश्य नभई सामाजिक कामपनि गर्दै जाने आफ्नो उद्देश्य रहेको उनको भनाई छ।

पोखरा–१५ का वडाध्यक्ष प्रकाश पौडेलले अनुदानमा दोहोरो, तेहेरो हुन नहुने भन्दै त्यसतर्फ अनुदानदाता निकाय सचेत रहनुपर्ने बताए । डि जानकी एग्रो फार्म प्रालिले तोकिएको मापदण्ड पुरा गरेर व्यवसाय सञ्चालन गर्ने, गुणस्तर कायम गर्नेमा आफू विश्वस्त रहेको बताए ।

  • २२ चैत्र २०७८, मंगलवार १८:०९ प्रकाशित