चुनावमा भाग लिने ७९ दलसँग छलफल गर्दै निर्वाचन आयोग

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दैछ ।स्थानीय तहको चुनावमा भाग लिने दलहरुसँग बिहान साढे ११ बजे छलफल हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।

उनका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको छ । ०७४ को निर्वाचनमा आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो ।

यसपटक ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । तर, आचारसंहिता भने लागू भइसकेको छैन ।उम्मेदवार बन्नुअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविरुद्धको रिट परेको छ । यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।

यद्यपि, सुझावका आधारमा प्रतिबद्धता पत्र तयार गरी सबै राजनीतिक दलका शीर्ष नेताबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ ।

  • २२ चैत्र २०७८, मंगलवार ०८:४५ प्रकाशित