स्याङ्जामा निर्माणाधीन पुल भत्कियो , ८ मजदुर घाइते

केन्द्रभाग मिडिया

स्याङ्जा।

स्याङ्जामा एक निर्माणाधीन पुल भत्किंदा ८ कामदार घाईते भएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिका जोड्ने निर्माणाधीन पुल भत्किंदा ८ जना कामदार घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दियो।

घाईते हुनेमा रौतहटका २४ वर्षीय प्रेमधन पटेल, बाराको हरिहरपुर–८ का २२ वर्षीय रामनिवास कुमार पटेल, सोही ठाउँ बस्ने २८ वर्षीय जितेन्द्र पटेल, भारत विहारका २५ वर्षीय धनञ्जय ठाकुर, सोही ठाउँका २१ वर्षीय सुजितकुमार यादव, ४८ वर्षीय रघुनाथ राव, २५ वर्षीय अनुपकुमार राव र गोरखाको मिरासन गाउँपालिका–४ का २३ वर्षीय सृजन परियार रहेको प्रहरीले जनाएको छ ।

चापाकोट–८ प्याकलुकस्थित स्याङ्जाको दामाचौर र पाल्पाको रामपुरलाई जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुल गए राति निर्माणका क्रममा भत्किँएको हो ।

पक्की पुल निर्माण कार्यमा फलामको बिममाथि उचाली जडान गर्ने क्रममा गएराती बिमसहित पुल भत्किएको हो ।

गम्भिर घाईते भएका रामनिवास कुमार पटेल र धनञ्जय ठाकुरको पाल्पास्थित लुम्बिनी मेडिकल शिक्षण अस्पताल प्रभासमा उपचार भइरहेको प्रहरीले बताएको छ । अन्यको पाल्पास्थित मिशन अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

  • २१ चैत्र २०७८, सोमबार १५:२५ प्रकाशित