उद्योगहरूले आजबाट बन्द गरे ग्यास बिक्री वितरण

केन्द्रभाग मिडिया

काठमाडौं ।

ग्यास उद्योगहरुले आजबाट बिक्रेताहरुलाई ग्यास बिक्री वितरण रोकेका छन् । नेपाल आयाल निगमले कमिसन कटौती गरेको भन्दै विरोधस्वरुप उनीहरुले आजदेखि ग्याँस बिक्री वितरण बन्द गरेका हुन् ।

कमिसन कटौतीको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् ।

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिको आह्वानमा पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार आजबाट एलपी ग्यास उद्योगीहरुले बिक्रेतालाई बिक्री वितरण बन्द गरेका हुन् ।

कमिसन कटौतीको निर्णय नसच्याए चैत २० गतेदेखि देशभर ग्यास र पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चेतावनी उनीहरुले दिएका छन् ।निगमले पेट्रोलियम बिक्रेतालाई प्रतिशतको आधारमा दिंदै आएको कमिसन २०७८ फागुन १९ गतेबाट बन्द गरेको थियो ।

उक्त कमिसन पाउनुपर्ने र २०७७ मंसिर १८ गतेबाट स्थगन गरिएको प्राविधिक नोक्सानीका सम्बन्धमा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक नेतृत्वको अध्ययन समितिको प्रतिवेदनअनुसार लागु गर्नुपर्ने मुख्य माग राखेर उनीहरुले चैत ५ गतेदेखि आन्दोलन जारी राखेका छन् ।

  • १७ चैत्र २०७८, बिहीबार ०९:५४ प्रकाशित