काठमाडौं ।
खराब मौसमको कारण बिहान केहीबेर खुलेको पोखरा विमानस्थल अहिले पुन : बन्द भएको छ ।
बिहान जोमसोमका लागि दुइ वटा उडान भएपनि कम भिजिबिलिटीका कारण अहिले उडान स्थगित गरिएको पोखरा विमानस्थलका सुपरभाइजर डोरबहादुर बस्नेतले केन्द्रखबरलाई जानकारी दिए ।
बस्नेतको अनुसार बिहान ६ः १० मा तारा र सुमिट एयरले जोमसोमका लागि उडान भरेका थिए । त्यसपश्चात पोखरा लगायत आसपासको क्षेत्रम पानी पर्न थालेपछि भिजिबिलिटी कम हुदाँ उडान रोकिएको हो ।
पोखरा विमानस्थलमा अहिले ४ हजार मिटर भिजिबिलिटी छ । उडानका लागि कम्तिमा ५ हजार मिटर भिजिविलिटी चाहिने पोखरा विमानस्थल टावरका एक कर्मचारीले बताए ।
सुपरभाइजर बस्नेतको दिनभरि मौसमको अवस्था यस्तै रहे उडान हुनेछैन । दिउँसो सम्ममा मौसममा सुधार आई भिजिबिलिटी बढ्यो भने नियमित हुने उडानहरु सुचारु हुने उनले बताए ।
उता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सोलुखुम्बुको लुक्लाको उडान अवरुद्ध भएको छ । भिजिबिलिटी कम भएकाले लुक्लाको उडान अहिले स्थगित गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ।
डोमेस्टिक तर्फका अरू उडान अहिले आइएफआरमा चलेका छन् । भिजिबिलिटीको कारण भिएफआरमा उडान हुन सकेको छैन । थोरै भिजिबिलिटी हुँदा पनि जहाज उडाउन र ल्याण्ड गर्न सकिने प्रविधीलाई आइएफआर भनिन्छ । भिएफआरका लागी ५ किलोमिटर भिजिबिलिटी चाहिन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले २२ सय मिटर भिजिबिलिटी छ । अन्तर्राष्ट्रिय उडान भर्ने र अवतरण गर्ने जहाजहरू पनि आइएफआरमा उडान तथा अवतरण गरिरहेका छन् ।