अन्तर्राष्ट्रिय विमानस्थलले अब पोखरालाई विश्वमाझ चिनाउनेछ : मन्त्री आले

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले अब पोखरालाई विश्वमाझ चिनाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् ।

हिजो(शनिबार) चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेको छ । विमानस्थल हस्तान्तर भएपश्चात विमानस्थल निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्दै उनले भने, ‘यो विमानस्थलले पोखरालाइै विश्वमाझ चिनाउनेछ, नेपाली पर्यटन क्षेत्रको गहना पोखरा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो, अब यो अन्तर्राष्ट्रिय पर्यटन बजारसँग सिधै जोडिएको छ ।’

मन्त्री आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अब नेपालको पर्यटन प्रवद्र्धन गर्न तथा नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउन थप टेवा पुग्ने बताए ।

उनले भने, “पोखरा संसारका पर्यटकहरूको आकर्षणको केन्द्र हो, आफ्नो व्यस्ताबाहेक मलाई लाग्छ नेपाल आएको पर्यटक पोखरा नपुगी फर्किन मान्दैन, त्यसैले अब यो विमानस्थलले पोखरा आउन चाहने पर्यटकका लागि सहजता प्रदान गर्नेछ ।’

उनले पोखरेली र पोखराका पर्यटन व्यवसायीलाई बधाई दिँदै पोखरामा अब ठूला होटल निर्माण गर्न र पर्यटन प्रवद्र्धनका प्याकेज कार्यक्रम ल्याउन पनि आग्रह गरे ।

उनले पोखरामा विश्वका पर्यटक आउने भएकाले पाँचतारे मात्र नभई साततारेसम्मको होटल खोल्न व्यवसायीलाई आग्रह गरे ।ठूला होटल तथा क्यासिनो खोल्नका लागि पर्यटन मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धतासमेत मन्त्री आलेले जनाए ।

शनिबार साँझ बालुवाटारमा आयोजित एक कार्यक्रममा चीनका विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्रीमार्फत् विमानस्थलको चाबी नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए ।

चीन सरकारको सहुलियतपूर्ण २२ अर्ब ऋणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको हो।

  • १३ चैत्र २०७८, आईतवार १०:१५ प्रकाशित