पल शाहविरुद्ध थुनछेक बहस जारी, धरौटीमा छुट्ने सम्भावना न्यून

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहविरुद्ध थुनछेक बहस जारी रहेको छ ।

बालिका बलात्कारको अभियोगमा प्रतिवादी बनाइएका शाहविरुद्धको थुनछेक बहस बिहीबार पनि सकिने सम्भावना निकै न्युन रहेको छ ।पलको पक्षमा बहस गर्न ९ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका कारण बिहीबार पनि बहस सकिने सम्भावना कम रहेको तनहुँ जिल्ला अदालतले जनाएको छ ।

बालिका बलात्कारको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मंगलबार मात्रै अभियोगपत्र दायर गरिएको थियो । १४ वर्षसम्मको कैद सजायको मागदाबी गर्दै प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय तनहुँले चैत ८ गते मुद्दा दायर गरेको थियो ।

सामान्यतः ३ वर्षभन्दा कम सजाय हुने अभियोगमा मात्रै न्यायालयले धरौटी रकम लिएर तारेखमा छाड्ने गरेका छन् । कर्तव्य ज्यान, जवरजस्ती करणी लगायतका गम्भीर प्रकृतिका कसुरमा भने अधिकांश प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिने गरेको पाइएको छ । तत्काल प्राप्त प्रमाणबाट कसूरदार नदेखिए मात्रै तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने गरिन्छ ।

शाह प्रकरणमा अडियो रेकर्ड, फेसबुक लगायतको म्यासेज, कल डिटेल्स रिपोर्ट र वारदातस्थलमा भएको पुष्टी हुने साक्षीको बयान र कागजात पेस गरिएकाले उनी तारेखमा छुट्ने सम्भावना भने ज्यादै कम छ ।

  • १० चैत्र २०७८, बिहीबार १२:५६ प्रकाशित