निर्वाचनमा आइटी टोली खटाउदै आयोग : सामाजिक सञ्जालमा २४ सै घण्टा कडा निगरानी हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

आगामी निर्वाचनमा सामाजिक सञ्जालमा कडा निगरानी हुने भएको छ।

निर्वाचन आयोगले सामाजिक सञ्जालमा हुने पोष्टहरुलाई २४ सै घण्टा निगरानी गर्ने गरि छुट्टै आइटी टोलि नै खटाउने भएको छ ।निर्वाचनका बेला सामाजिक सञ्जालमा अभ्रद, असभ्य, राजनितिक हिंसा भड्काउने खालको पोष्टहरु अधिक हुन सक्ने भन्दै आयोगले निगरानीका लागि आइटी टोलीको व्यवस्था गर्ने भएको हो ।

आयोगले अघिल्लो पटक भएको निर्वाचनको तुलनामा अहिलेको निर्वाचनमा बढी मात्रामा सामाजिक सञ्जालमा राजनीतिक गतिविधिका सूचना पोष्ट हुने अनुमान गरेको छ । सामाजिक सञ्जालबाट हुने निर्वाचन आचार संहिता विपरीतका गतिविधि रोक्न अनुगमन संयन्त्र बनाउन लागेको आयोगको भनाइ छ।

विशेषगरि पछिल्लो समय निकै चर्चामा रहेको एप टिकटकमा कडा निगरानी हुने आयोगले बताएको छ। फेसबुकलाई पछि पार्दै टिकटक निकै अगाडि छ ।

आयोगको सह–सचिवको संयोजकत्वमा आइटीहरूको एउटा विज्ञ टोली आयोगमा रहन्छ । जसमा युएनडिपी र आइपिएस नेपालबाट पनि एकएक जना ‘सोसल मिडिया एक्सपर्ट’ले चुनाव अवधिभर काम गर्ने तयारी छ ।

निर्वाचन आयोगका प्राविधिक, सामाजिक सञ्जाल हेर्ने आइटी इन्जिनियरमार्फत चौबिसै घण्टा सामाजिक सञ्जालमा प्रवाह भइरहेका सन्देशहरूलाई निगरानी गर्ने आयोगको भनाइ छ ।

साथै विभिन्न सञ्चारमाध्यमका नियामक निकाय प्रेस काउन्सिल, विज्ञापन बोर्डजस्ता संस्थाहरूबाट पनि सामाजिक सञ्जालबाट पुर्‍याउने क्षति कम गर्न, गलत सूचना, भ्रमित सूचना, घृणाजन्य अभिव्यक्ति, गाली गलौच अथवा दुष्प्रचारका कुराहरूलाई तुरुन्तै रोक्न, तिनको स्रोत पहिचान गर्न र निरन्तर रूपमा त्यस्ता सामग्री आउने साइटलाई नेपालमा खुल्न नसक्ने बनाउन दूरसञ्चार प्रदायकसँग समन्वय गर्ने आयोगले जनाएको छ । सामाजिक सञ्जालमा आपराधिक किसिमका पोष्ट भएको छ भने त्यसलाई पहिचान गरेर कारबाही गर्ने तयारी आयोगले गरेको छ ।

यस्तै निर्वाचनमा संवेदनशील मतगणना स्थलबाट निर्वाचन आयोगमा भिडियो लाइभको व्यवस्था गरिने भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनपछि मतगणनाका क्रममा केही रणनीतिक स्थलहरू, अलि बढी खतराजनक स्थलमा यस्तो व्यवस्था गर्न लागिएको हो ।

  • १० चैत्र २०७८, बिहीबार ०९:५१ प्रकाशित