कास्की अदालतको इजलास कक्षमा तोडफोड: मिसिल चोरीको आशंका

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला अदालत कास्कीका दुई वटा इजलास कक्षमा मंगलबार राति तोडफोड भएको छ । अदालतको एक नम्बर र छ नम्बर इजलास कक्षमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

एक नम्बर इजलास कक्षको ढोका मात्रै फोरिएको छ भने छ नम्बर इजलास कक्षको भित्र रहेको दराज पनि फुटाइएको प्रहरीले बताएको छ । दराजमा रहेका महत्त्वपूर्ण प्रमाण र मिसिलहरू चोरी भएको आशंका गरिएको छ । इजलास कक्षमा कसले तोडफोड गर्यो किन गर्यो भन्ने यकिन भएको छैन । घटनाबारे अनुसन्धान सुर भएको प्रहरीले जनाएको छ ।

 चौबीसै घण्टा अदालतको मुख्य प्रवेशद्वारमा प्रहरी सुरक्षा हुन्छ ।साथै अदालतको अगाडि नै वडा प्रहरी कार्यालय बैदाम रहेको छ । यस्तो कडा सुरक्षा घेराका बीच अदालतमा पसेर दराज फुटाइनुलाई शंकास्पद घटनाका रूपमा लिइएको छ ।

बुधबार बिहान सरसफाइ गर्न आएकी कर्मचारीले इजलास कक्षका ढोका फुटेको देखेपछि माथिल्लो तहका कर्मचारीलाई खबर गरेकी थिइन् । एक नम्बर इजलासमा प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराई र छ नम्बर इजलासमा देवप्रकाश योगीले मुद्दा हेर्दै आएका थिए ।

  • ९ चैत्र २०७८, बुधबार १५:११ प्रकाशित