जनकपुर–जयनगर रेल, यस्तो छ भाडादर

केन्द्रभाग मिडिया

काठमाडौं ।
रेलवे अध्यादेश जारी भएसँगै नेपालमा रेल सञ्चालनको कानुनी बाटो खुल्ला भएको छ । दुईसाता भित्रै रेल सञ्चान गर्ने गरी तयारी समेत गरिएको छ ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो ।

यसअघि गत मंसिरमा नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम जारी भएको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश संघीय संसद्बाट पारित हुन नसक्दा स्वतः निष्क्रिय भएको थियो ।

संसद् अधिवेशन अन्त्य भएसँगै सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलवार पुनः रेल्वे अध्यादेश जारी गरेपछि रेल सञ्चालन गर्ने बाटो खुलेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।

रेल्वे अध्यादेश जारी भइसकेकाले अबको केही दिनभित्रै रेल सेवा उद्घाटनको मिति तय हुने उनले बताए । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी भइरहेको महाप्रबन्धक झाले बताए ।

जनकपुर–कुर्था–जयनगरसम्म सामान्यतर्फ प्रतियात्रु ७० र वातानुकूलित सिटमा ३०० भाडा निर्धारण गरिएको छ ।गत फागुन १ गतेदेखि जयनगर–जनकपुरसम्म यात्रुविहीन रेल दैनिक एकपटक सञ्चालन भइरहेकामा अहिले एक महिनामा १५ दिनमात्र चल्न थालेको छ ।

  • ९ चैत्र २०७८, बुधबार ११:०१ प्रकाशित