काठमाडौं।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषदको सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै परेका रिटहरूलाई आज हेर्दाहेर्दैमा राखिएको छ । रिटमाथि अब आगामी बुधबार सुनुवाई हुने भएको छ ।
संवैधानिक परिषद बैठकका केही प्रावधान परिवर्तन गर्नका लागि अध्यादेश ल्याएर तत्कालिन सरकारले विभिन्न पदमा गरेको नियुक्तिको विरुद्ध वरिष्ठ अभिवक्ताहरु दिनेश त्रिपाठी र ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
उनीहरुले उक्त अध्यादेश संविधानको मर्म विपरित रहेको र संसदीय सुनुवाईसमेत नगरी नियुक्ति दिएको भन्दै उक्त नियुक्ति खारेजीको समेत माग गर्दै रिट दायर गरेका हुन् ।
संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मिरा खड्का, हरिकृष्ण कार्की, विश्वँभर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।