माधव नेपाल भन्छन : स्थानीय निर्वाचनमा मिलेर जाने सत्तागठबन्धनमा सहमति छ

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच सहकार्य हुने दावी गरेका छन् ।बुधबारबाट काठमाडौंमा सुरु समाजवादीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले चुनावको तयारीको सन्दर्भमा गठबन्धन दलहरूसँग पनि कुराकानी भइरहेको र मिलेर जाने सहमति भएको बताएका हुन् । उनले अव सिंगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने बताए ।

गठबन्धन दलहरुबीचको गठबन्धन तोड्नका लागि भयकंर षडयन्त्र भएको र उक्त षडयन्त्रहरुलाई बिफल पारिएको उनको भनाइ छ । अध्यक्ष नेपालले पार्टीको अनुशासन र विधिहरु पालना गर्नुपर्ने भन्दै अराजकतालाई पार्टीभित्र स्वीकार गर्न नसकिने उल्लेख गरे । त्यस्तै उनले आफुहरुले निर्माण गरेको एमालेलाई केपी ओलीले कव्जा गरेका कारण बिद्रोह गर्नुपरेको धारणा राखे । अध्यक्ष नेपालले आफ्नो पार्टीलाई जनताको आकांक्षा अनुरुप नै अघि बढाउनुपर्ने बताए ।

बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमाथि उठेका प्रश्न र सुझावलाई समेटेर बिहीवारको बैठकले पारित गर्ने एकीकृत समाजवादीले जनाएको छ । प्रतिवेदनमाथि छलफल गर्न बिभिन्न समूह बनाइएको र बिहीबार ११ बजे बस्ने बैठकमा निष्कर्ष प्रस्तुत हुने नेताहरुले जनाएका छन् ।

  • २५ फाल्गुन २०७८, बुधबार १३:५९ प्रकाशित