कांग्रेसको चुनावी अभियान : नेकपा सरकारको भण्डाफोर गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसले चुनाव लक्षित अभियान सुरु गरेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचका लागि काँग्रेसले उक्त कार्यक्रम सुरु गरेको हो ।कांग्रेसले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान सुरु गरेर एमसीसी बारेमा रहेको भ्रमहरुको निवारण गर्ने जनाएको छ ।

अमेरिकी सहायता परियोजना एमसीसी र आफ्नो नेतृत्वको सरकारले गरेका कामहरुको बारेमा जनतालाई जानकारी दिन अभियान सञ्चालन गर्न लागेको हो । अभियान फागुन २९ गतेबाट सुरु हुने भएको छ ।

कांग्रेसले एमसीसीका बारेमा मात्रै नभएर अभियानका क्रममा तत्कालीन नेकपा नेतृत्वको सरकारको तीन वर्षीय कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण पनि उठाउने जनाएको छ ।

एक महिनासम्म चल्ने अभियानले आठवटा उद्देश्य लिएको छ । जसको मुख्य उद्देश्य स्थानीय तह निर्वाचनमा कांग्रेसलाई जिताउन माहोल बनाउने रहेको छ । प्रतिनिधिहरु वडा र टोलटोलमा पुगेर कांग्रेसको पक्षमा कार्यकर्ताहरुमा उत्साह भर्ने काम गर्ने उद्देश्य पार्टीले लिएको छ ।

यस्तै अभियानकै दौरान पार्टीले ‘हरेक काँधलाई भारि, हरेक हातलाई जिम्मेवारी’ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा वृहत्तर परिचालन गराउने नीति लिएको छ ।

पार्टीले संसदबाट अनुमोदन भएको एमसीसी परियोजनाका विषयमा जनस्तरमा छरिएका भ्रम र पार्टीप्रति उत्पन्न शंका निवारणका लागि बुँदागत रुपमा अभियानबाट भ्रम चिर्ने तयारी पनि गरेको छ ।

पार्टीले अभियान अन्तर्गत प्रदेश कार्यसमितिलाई केन्द्रको कार्यक्रममा असर नपर्ने गरि आफ्नो प्रदेश भित्र ‘घर–घर जाऔं, कांग्रेस जिताऔं अभियान’ थप गरेर सञ्चालन गर्ने अधिकार पनि दिएको छ ।

  • २४ फाल्गुन २०७८, मंगलवार १७:२० प्रकाशित