सुसाइड नोट लेखेर परिवारका ५ जनाले पिए विषः १ को मृत्यु, ४ जना भेन्टिलेटरमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित डाँडापौवामा सोमबार राति सुसाइड नोट लेखेर एकै परिवारका ५ जनाले विष पिएका छन् ।

विष पिएका परिवारका ५ जनामध्ये एक जनाको ज्यान गएको छ भने ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ६२ वर्षीया इन्दिरामाया प्रधान सहित विष पिएका ४ जनाको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको हो ।

३३ वर्षीय सुवर्णमान प्रधानको गएराति नै मृत्यु भयो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार भेन्टिलेटरमा उपचार गराइरहेको चार जना बोल्न सक्ने अवस्थामा छैनन् ।

इन्दिरामाया प्रधानसहित ३८ वर्षका भिम प्रधान, ३५ वर्षीया मन्दिरा डंगोल र ११ वर्षीया सुप्रेणा प्रधानको अवस्था गम्भीर छ । डाडाँपौवास्थित डा। उद्धव पुरीको घरमा उनीहरु डेरामा बस्थे । डेरामा विषका बट्टाहरू र पानीको बोतलमा घोलेर बाँकी रहेको विष फेला परेको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार उनीहरुले विष पिउनुअघि लेखेको नोट भेटिएको छ । नोटमा उनीहरुले लेखेका छन्, ‘हामी संयुक्त रुपमा बिदा हुँदैछौँ ।’ सो परिवारले विषमा सिटामोल धुलो बनाएर जुसजस्तो घोल बनाएको भेटिएको छ । ४ वटा बोटलमा घोलेर पिएको बाँकी रहेको विष प्रहरीले अनुसन्धानका लागि संकलन गरेको छ ।

उनीहरु मध्ये केही मानसिक रोगको समस्या रहेको बताइएको छ। प्रहरीले घटनाको कारण आर्थिक समस्या हुनसक्ने आँकलन गरेको छ । तर, यकिन कारण खुल्न बाँकी रहेको एसपी मैनालीले बताए ।

  • २४ फाल्गुन २०७८, मंगलवार ०९:५५ प्रकाशित