माओवादीमा भागबण्डा मिलेनः आजको केन्द्रीय समिति बैठक स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठकको तयारी नपुगेको तथा नेताहरुबीच आन्तरिक तयारी गर्नुपर्ने भएपनि बैठक स्थगित गरिएको बताइएको छ ।

आजै बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि स्थान नै परिवर्तन गरेर तय गरिएकामा फेरि सोमबारसम्मका लागि स्थगित गरिएको हो । अर्को बैठक अब सोमबार बिहान ११ बजे बस्ने तय भएको ती नेताको भनाइ छ ।

आजको बैठकमा केन्द्रीय कमिटीको पूर्णता दिने, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने कार्यसूची रहेको छ । तर, पदाधिकारी चयनका सम्बन्धमा नेताहरुबीच भागबण्डा नमिलेपछि बैठक नै स्थगित भएको बताइएको छ । पदाधिकारीमा त्यसमा पनि महासचिवमा माओवादीभित्र हानथाप छ । माओवादीको महासचिवमा वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, देव गुरुङ, पम्फा भुसाललगायतको दाबेदारी छ ।

पदाधिकारीमा नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायतका नेताहरुले बार्गेनिङ बढाएका छन् । पदाधिकारीमा एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ ।

  • २२ फाल्गुन २०७८, आईतवार १३:२८ प्रकाशित