पोखरा ।
गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले पत्रकारिता निष्पक्ष हुनुपर्ने धारणा राखेका छन् । नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको आधारभूत पत्रकारिता तालिम समापनको अवसरमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
उनले पत्रकारिताको नियम र परिधिमा रहेर आफूले सिकेका ज्ञान र सिप प्रयोग गर्न उनको सुझाव थियो । पत्रकारिताको धर्म समाजमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्नु र समस्या उजागर गर्नु भएकोले यसमा ध्यान दिन नयाँ प्रशिक्षार्थीहरुलाई उनको सुझाव थियो । प्रदेशमा सञ्चार विधेयक आएपछि मिडियाका धेरै समस्या समाधान हुने भएकाले सरकार त्यसैमा तल्लिन रहेको उनले जानकारी दिए । उनले पत्रकारिता मिसनको लागि नभई लोकतन्त्रको रक्षाका लागि हुनुपर्ने उल्लेख गरे ।
नेपाली कांग्रेसका पूर्व जिल्ला सभापती कृष्ण केसीले तालिमपछि पनि प्रशिक्षार्थीहरुलाई पत्रकारिता पेशामा रहन आग्रह गरे । पत्रकार निडर र निस्पक्ष हुनुपर्ने उनको सुझाव थियो । कुनै पार्टी प्रति आशा छ भन्दैमा त्यो पार्टीले गरेको गल्ती नलुकाई समाचार लेख्न उनको आग्रह थियो । पत्रकारिता गर्दा कुनै समस्या परेमा नेपाली कांग्रेस सधै पत्रकारको पक्षमा रहेको उनको भनाई थियो ।
तालिममा सहभागी ५५ जना प्रशिक्षार्थीहरुलाई मन्त्री मेखलाल श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए । समापन कै अवसरमा नेपाल प्रेस युनियन कास्की शाखाले ३० जना भन्दा बढिलाई नयाँ सदस्यता दिएको छ ।
उक्त अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस यूनियनका पूर्व केन्द्रिय उपाध्यक्ष गंगाधर पराजुलीले समयअनुसार चल्न नसक्ने पत्रकार पछि पर्ने धारणा राखे । समय र प्रविधिमा जानकार लिन पछि पर्ने पत्रकार पत्रकारिता क्षेत्रमा सधैं पछि पर्ने उनको भनाई थियो ।
उनले गण्डकी प्रदेश सरकारले मिडियाका क्षेत्रमा भनेजस्तो का मगर्न नसकेको बताए । देश संघियतामा गईसक्दा पनि अझै सञ्चार मन्त्रालय अन्तर्गत हुने पत्रकार परिचय पत्र र सञ्चार माध्यम नविकरण जस्ता कार्य गर्न काठमाडौं नै धाउनुपर्ने बाध्यता रहेको उनले जनाए । यसका लागि गण्डकी प्रदेश सरकारले छिटो भन्दा छिटो काम गर्नुपर्ने उनको भनाई थियो ।
पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले पत्रकारितामा भित्रिएका नयाँ नयाँ विषयमा पत्रकार जानकार हुनुपर्ने धारणा राखिन् । उनले मिसन पत्रकारिताभन्दा व्यावसायिक पत्रकारितामा जोड दिनुपर्ने बताईन् । प्रशिक्षार्थीहरुलाई अब फिल्डमा काम गरेर देखाउने समय आएको भन्दै काम गर्नै शिलशिलामा आईपर्ने समस्या समाधान गर्न नेपाल पत्रकार महासंघ सधैं साथमा रहने उनको भनाई थियो ।
नेपाल प्रेस युनियनका अध्यक्ष नविन सिग्देलले नेपाल प्रेस युनियनले पत्रकार उत्पादन गर्ने लक्ष्यसहित सुरु गरेको तालिममा उत्साहपूर्ण सहभागिताका लागि प्रशिक्षार्थीहरुलाई धन्यवाद दिए । उनले प्रशिक्षार्थीहरुलाई तालिममा सिकेको विषय अब व्यावहारमा उतार्न आग्रह गरे ।
समापन समारोहमा प्रमुख प्रशिक्षक सन्तोष पोखरेलले पत्रकारिताका महत्वका बारेमा आफ्नो धारणा राखेको थिए । आगामी दिनमा तालिममा सिकेका विषय काममा उतार्ने क्रममा आफ्नो सधैं साथ र सहयोग रहने उनको भनाई थियो । प्रशिक्षार्थीका तर्फबाट सिता परियार र रविरमण अधिकारीले तामिलमा नयाँ नयाँ जानकारी पाएकाले अबका दिनमा पत्रकारिता गर्न सहज हुने धारणा राखे ।