बुद्धको पोखरा–जनकपुर उडान सुरु

केन्द्रभाग मिडिया

पोखरा ।
मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा सुरु भएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरा र मधेस प्रदेशको राजधानी जनकपुरधामसम्मको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली सहित १८ सदस्यीय टोली मधेस प्रदेशको भ्रमणमा जनकपुर पुगेका हुन् । दुवै प्रदेशको पर्यटनलाई बढवा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो ।

तीन दिने मधेस प्रदेशको भ्रमणमा जनकपुर पुगेका गण्डकीका मुख्यमन्त्री नेपालीलाई मधेस प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामसरोज यादव र उद्योग पर्यटन तथा वातावरण मन्त्री शुत्रध्न महतोले स्वागत गरेका थिए । जनकपुर पुगेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेश प्रदेशबिचको सम्बन्ध सुदृढ गर्न नयाँ आयाम सुरु भएको बताए । उनले दुई प्रदेशबिचको पर्यटन प्रवर्द्धनका लागि सदैव सहकार्य गर्ने उल्लेख गरे ।

मुख्यमन्त्री नेपालीको भ्रमण टोलीमा अर्थमन्त्री रामजी प्रसाद बराल, पर्यटन उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेल लगायत छन् । मुख्यमन्त्री पोखरेलले आइतबार जानकी मन्दिरको दर्शन र पूजा अर्चना गर्ने कार्यक्रम छ । मुख्यमन्त्री पोखरेल सहितको टोली आइतबार भ्रमणका लागि सर्लाहीको भरत ताल र नुनथर पुग्ने र बाराको गढीमाई मन्दिर दर्शन गरेर जनकपुर फर्किने कार्यक्रम छ ।

सोमबार बिहान महोत्तरी जलेश्वरको जलेश्वरनाथ महादेवको दर्शन तथा पूजा अर्चना गरेपछि मुख्यमन्त्री पोखरेलेको औपचारिक मधेस प्रदेश भ्रमण सम्पन्न हुने र सोही दिन नै गण्डकी प्रदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।

  • २१ फाल्गुन २०७८, शनिबार १७:३१ प्रकाशित