स्थानीय तहको निर्वाचनः आजदेखि मतदाता नामावलीमा दाबी विरोध सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन अन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी-विरोध सुरु भएको छ । नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको आयोगले जनाएको छ ।

२६ फागुनसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाइने आयोगले जनाएको छ ।

यो अवधिमा मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिइनेछ ।

७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा दाबी९विरोधका लागि निवेदन दिन सकिने र सोही आधारमा आयोगले छानबिन गरेर मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेछ । आयोगले फागुन २६ गतेभित्र परेको उजुरीबारे अनुसन्धान तथा छानबिन गरी सम्बन्धित मतदातालाई प्रमाणसहित उपस्थित हुने सूचना प्रकाशन गर्नेछ ।

मतदाता नामावली नियमावलीमा दर्ता अधिकारीले छानबिनपछि त्यस्तो उजुरीमाथि कारबाहीस्वरूप मतदाता नामावलीबाट नाम हटाउनसक्ने अधिकार दिएको छ । ५ फागुनदेखि १५ फागुनसम्मको अवधिभित्र ८० दलले दल दर्ताको लागि निवेदन दिएको आयोगले जनाएको छ । हाल दल दर्ताका लागि परेका निवेदन उपर जाँचबुझ भइरहेको छ ।

  • २० फाल्गुन २०७८, शुक्रबार ०८:५५ प्रकाशित