संसदको अवरोध अन्त्य गर्न एमालेलाई सत्तारुढ गठबन्धनको आग्रह

केन्द्रभाग मिडिया

काठमाडौं ।
सत्तारुढ गठबन्धनले संसदको अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेको छ । चार दलका शीर्ष नेताहरु रहेको समन्वय समितिको बैठकमा संसद लामो समयदेखि अवरुद्ध हुँदा नागरिकता लगायतका विधेयक रोकिएको विषयमा छलफल भएको थियो ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन भएपछि पहिलोपटक गठबन्धनको बैठक बसेको थियो ।

बैठकमा सत्ताधारी नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूबीच छलफल भएको थियो । स्थानीय चुनाव, चुनावी गठबन्धनलगायत विषयमा छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी रहेका थिए ।

  • १९ फाल्गुन २०७८, बिहीबार १२:१५ प्रकाशित