अनि नारायणकाजीले प्रचण्डलाई भने, ‘मैले नयाँ कदम चाल्नेबारे सोचेको थिइन तर ..’

केन्द्रभाग मिडिया

काठमाडौं ।

संसदबाट एमसीसी व्याख्यात्मक घोषणासहित पारित गरिएपछि नेकपा माओवादी केन्द्र विभाजन हुनसक्ने आंकलन गरिएको छ ।

यसैलाई मलजल हुनेगरी सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेता नारायणकाजी श्रेष्ठ लाई लक्षित गर्दै कोही नयाँ बाटो हिड्न चाहेमा स्वतन्त्र हुने अभिव्यक्ति दिएपछि झनै माओवादीमा विभाजन आउन लागेको धेरैले अनुमान लगाएका छन् ।

माओवादी नेता नाराणकाजी श्रेष्ठले भने आफूले नयाँ कदम बारे केही नसोचेको बताएका छन् । उनले अध्यक्ष प्रचण्डसंग मंगलबार भएको भेटमा यस्तो बताएका हुन् । अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनलाई लिएर असन्तुष्ट बनेका नेता श्रेष्ठलाई भेट्न अध्यक्ष प्रचण्ड मंगलबार श्रेष्ठ निवास हात्तीवन पुगेका थिए ।

भेटमा प्रचण्डले पार्टीभित्रको मतभेदलाई पार्टीमै बसेर छलफल गर्न आग्रह गरेका थिए । आफूले कुनै प्रसंगमा भनेको विषयलाई लिएर अन्यथा नठान्न र कुनै नयाँ निर्णय नगर्नसमेत प्रचण्डले श्रेष्ठलाई भनेका थिए।

श्रेष्ठले आफूले नयाँ कदम चाल्नेबारे केही नसोचेको तर प्रचण्डको सोमबारको अभिव्यक्तिले भने झस्काएको जवाफ दिएका थिए । ‘नयाँ कदम चाल्नेबारे केही सोचेको थिइनँ । तर तपाईको हिजोको अभिव्यक्तिले भने मलाई झस्काएको छ ।’

  • १७ फाल्गुन २०७८, मंगलवार १८:२३ प्रकाशित