काठमाडौं ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता भीम रावल अनुशासनहीन ढंगले हिरो बन्न खोजेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष ओलीले भने, ‘पार्टीको काम कारवाही भन्दा आफूलाई पृथक ढंगले प्रस्तुत गरिरहनुभएको छ । मैले अस्ति हाम्रो संसदीय दलको बैठकमा पनि भनेको थिएँ, आफूलाई व्यक्तिगत तर्फबाट हिरो देखाउन खोज्ने, कुनै पनि बाहनामा चाहे राष्ट्रवाद होस् चाहे लोकतन्त्र होस् वा अरु बाहानामा हाम्रो पार्टीले लिएका नीति सही छन् त्यसको बिरुद्धमा पृथक देखिएर गर्ने क्रियाकलापहरू अनुशासनभित्र पर्दैनन् । भीम रावल हाम्रो पार्टीको सल्लाहकार परिषदको सदस्य हो । उहाँले आत्मकेन्द्रित, आत्मप्रचारक भएर अनुचित र अनुशासनहीन काम गर्दै आउनुभएको छ ।’














