एमसीसीमा प्रचण्डको ‘यु–टर्न’ ले फुटको संघारमा माओवादी

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘यु–टर्न’ले माओवादी केन्द्र फुटको संघारमा पुगेको छ ।

एमसीसी पारितका लागि सहभागि भएपश्चात नेकपा माओवादी केन्द्र फुटको संघारमा पुगेको हो । संंसदमा एमसीसी पारितमा सहमति जनाएसँगै नेकपा माओवादी केन्द्रभित्रको एकता संकटमा परेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंले पार्टीभित्र समस्या आएको खुलाइसकेका छन् ।

एमसीसीमा सहभागि भएपश्चात स्पष्टीकरण दिन प्रचण्डले हिजो(१६ फागुन)मा खुमलटारमा पत्रकार सम्मेलन गरेका थिए । सो क्रममा नारायणकाजी श्रेष्ठको नामै लिएर विगतमा महाकाली सन्धीको विरोध गरेर बामदेव गौतमले नयाँ पार्टी खोलेको उदाहरण दिई त्यस्तो गल्ती नगर्न प्रचण्डले आग्रह गरे । जनता र कार्यकर्ता श्रेष्ठको पछि नलाग्ने भन्दै आफ्नो बाटो लाग्न कसैले नरोक्ने बताए ।

श्रेष्ठले एमसीसीबारे सार्वजनिक रुपमै विरोध गरेका छन् । यसले प्रचण्डलाई अप्ठ्यारो परेको छ । बाहिर नबोल्ने सहमति उल्लंघन गरेको भन्दै प्रचण्डले श्रेष्ठलाई चेतावनी समेत दिएका छन् ।

एमसीसी अनुमोदन भएकोमा श्रेष्ठसहित उनी पक्षीय नेताहरु लिलामणि पोखरेल र गिरिराजमणि पोखरेल पनि सार्वजनिक रुपमा विरोधमा छन् ।
एमसीसीको विषयले माओवादीभित्र ‘जनयुद्ध’ मा सहभागी भएका र नभएकाहरुको कित्ताकाट भएको छ । यसले धाँजा समेत फाटिसकेको छ । कुनैपनि बेला माओवादी फुट्ने अवस्था विकास भइसकेको छ ।

यसैगरी, माओवादीले एकताको प्रयास गरेका पूर्वमाओवादी नेताहरु नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्य किरण, सीपी गजुरेललगायत पनि प्रचण्डसँग चिढिएका छन् । उनीहरुले एमसीसी अनुमोदन भएको विरोध कार्यक्रम गर्दै आएका छन् ।

यसैबीच सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा पार्टीले सत्ता बाट बाहिरिने निर्णय गरेको छ । यद्यपि औपचारिक घोषणा भने भएको छैन ।

  • १७ फाल्गुन २०७८, मंगलवार ०९:५९ प्रकाशित