स्व. नेता अधिकारीलाई न्याय दिन सांसद भट्टराईको माग

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं संघीय सांसद विद्या भट्टराईले आफ्ना दिवंगत पति एवं तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई न्याय दिन आग्रह गरेकी छन् । स्वार्गीय रवीन्द्र अधिकारीको तेस्रो स्मृति दिवशको अवसरमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले आयोजना गरेको रवीन्द्र अधिकारी र मिडिया विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो अग्रह गरेकी हुन् ।

नेपालमा निराधार आरोप लगाउने र यत्तिकै छोडेर त्यसैमाथि राजनीति गर्ने डरलाग्दो प्रबृति रहेकाले त्यसको अन्त्य गर्नुपर्नेमा उनले जोड दिइन् । उनले यदी स्वर्गीय अधिकारी दोषी भए त्यसलाई प्रमाणित गर्न समेत चुनौति दिएकी छन् ।

आफू स्वगीय अधिकारीको परिवारको नाताले दोषी प्रमाणित भए कानून बमोजिमको कारबाही भोग्न तयार  रहेको उनले बताइन् । ‘स्वर्गीय अधिकारी मन्त्री हुँदा उहाँलाई निराधार आरोप लगाइएको छ । उहाँ निर्दोष हो भन्ने प्रमाणित नगर्दासम्म हामी माथि पनि विभिन्नढंगले प्रश्न उठ्ने गरेका छन् । म भन्छु उहाँ निर्दोष हुनुहुन्छ ।

यदी उहाँ दोषी नै हुनुहुन्छ भनेपनि दोषी प्रमाणित गर्ने आधार आरोप लगाउनेहरुले दिनुपर्छ । दोषी प्रमाणित भए परिवारको हिसावले त्यसको सजायँ भोग्न हामी तयार र्छौं ।’  उनले भनिन्,  ‘होइन भने निर्दोष मानिसलाई यत्तिकै दोषी करार गर्ने, त्यसलाई प्रमाणित गर्न नपर्ने अनि त्यसलाई देखाएर राजनीति गर्ने डरलाग्दो प्रबृत्तिको अन्त्य गरिनुपर्छ ।’

कार्यक्रममा सहभागी पत्रकारहरुले स्वर्गीय अधिकारीले सञ्चार क्षेत्रमा दिएको योगदानको चर्चा गरेका थिए । यसैबीच स्व. रवीन्द्र अधिकारीको तेस्रो स्मृति दिवश विभिन्न कार्यक्रम गरेर मनाइने भएको छ । शनिबार पोखरामा पत्रकारसंग अन्तरक्रिया कार्यक्रम मार्फत अधिकारी स्मृति प्रतिष्ठानले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउन लागेको जानकारी दिएको हो ।

शनिबार पत्रकारसंग अन्तरक्रिया कार्यक्रम भएको छ । आइतबार स्मृति दिवशकै दिन बिहान स्मृति पार्कमा माल्यार्पण तथा श्रद्धाञ्जली सभा, दिउँसो पोखरा उद्योग वाणिज्य संघमा समृद्धि र रवीन्द्र अधिकारी विषयक अन्र्तक्रिया कार्यक्रम गर्ने कार्यक्रम रहेको छ । सोमबार पृथ्वी नारायण क्याम्पसमा रवीन्द्र अधिकारी र विद्यार्थी शिर्षकमा अन्तरक्रिया कार्यक्रम राखिएको प्रतिष्ठानका महासचिव धनराज आचार्यले जानकारी दिए ।

ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि पुगेका तत्कालिन संस्कृति, पयटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित पर्यटन क्षेत्रका ६ जना चढेको हेलिकप्टर १५ फागुन २०७५ मा दुर्घटनामा परि निधन भएको थियो । उक्त दूखद् दूर्घटना भएको तीन वर्ष पुगेको छ ।

 

  • १४ फाल्गुन २०७८, शनिबार २०:२३ प्रकाशित