किभ ।
युक्रेनका विभिन्न स्थानमा बिहीबारदेखि सैन्य कारबाही थालेपछि रुसको आलोचना मात्रै बढेको छैन, विभिन्न मुलुकमा विरोध प्रदर्शन भइरहेका छन् । प्रदर्शन रुसभित्रै पनि सुरु भएको छ । यस्ता प्रदर्शनहरूमा हालसम्म ७ सयभन्दा बढी पक्राउ परेको बीबीसीले लेखेको छ ।
अमेरिका र युरोपेली मुलुकले रुसी कदमको कडा आलोचना गर्दै विभिन्न प्रतिबन्धको घोषणा नै गरिसकेका छन् । चौतर्फी आलोचना बढेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा लागेका छन् । त्यसका लागि उनले विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँगको संवादलाई तीव्रता दिएका हुन् । शुक्रबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पुटिनको फोनवार्ता भएको छ ।
चिनफिङले चीन सधैं रुसको साथमा रहेको आश्वस्त पार्दै तनाव घटाउन कूटनीतिक वार्तामार्फत नै प्रयास गर्न जोड दिएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ । चीन र रुसको सम्बन्ध छिमेकी मात्र नभई कूटनीतिक र आर्थिक साझेदारीका हिसाबमा पनि बलियो रहँदै आएको छ । युक्रेनी तनावलाई लिएर पनि रुसले चीनसँग बलियो साथ खोजेको छ । अहिलेसम्म पनि चीनले युक्रेनमाथि रुसले थालेको कारबाहीलाई ‘आक्रमण’ मानेको छैन ।
शुक्रबार बिहान मात्रै नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीनले सबै मुलुकको क्षेत्रीय अखण्डताको सम्मान गर्ने उल्लेख गर्दै मुलुकको सुरक्षा मामिलालाई लिएर रुसको चिन्तालाई पनि राम्रोसँग बुझेको बताएका थिए । ‘अझै पनि चीन युक्रेनलाई एक वैध राज्यका रूपमा मान्छ । हाल देखिएको संकटलाई राजनीतिक रूपमा समाधान गर्ने बाटो अझै बन्द भइसकेको छैन,’ वेनबिनले भने । उनले कसरी वार्ताको वातावरण बन्छ भन्नेबारे भने बताएनन् । युक्रेनका डोनेत्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको दर्जा दिने रुसको घोषणाका बारेमा पनि उनी खुल्न चाहेनन् ।
पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आक्रमणको पहिलो दिन बिहीबार नै संवाद गरेका थिए । त्यस क्रममा पुटिनले अमेरिका र नाटोले युक्रेनमा सैन्य उपस्थिति बढाएका कारण कारबाही अगाडि बढाएको प्रस्ट पारेका थिए । पुटिनको स्पष्टीकरणमा मोदीले सन्तोषजनक प्रतिक्रिया दिएको रुसी राष्ट्रपति कार्यालयको दाबी छ । कार्यालयका अनुसार पुटिनसँगको कुराकानीमा मोदीले युक्रेनमा रहेका भारतीय नागरिकको सुरक्षाको प्रत्याभूति खोजेका थिए । जवाफमा पुटिनले त्यसका लागि आवश्यक निर्देशन दिने प्रतिबद्धतासमेत जनाएको बताइएको छ ।
त्यसैगरी, पुटिनले इरानका राष्ट्रपति सय्यद इब्राहिम रैसीसँग पनि फोनवार्ता गरेका छन् । रैसीसँग पनि पुटिनले डोनबासका बासिन्दाको सुरक्षाका लागि ‘विशेष सैन्य कारबाही’ थालिएको जनाएका छन् । बिहीबारै पुटिनले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग भेटवार्ता गरेका थिए । मस्को भ्रमणमा रहेका खानसँग दक्षिण एसियाली राजनीतिबारे कुराकानी भएको रुसी राष्ट्रपति कार्यालयले जनाएको छ । पुटिनले टर्कीका राष्ट्रपति रेचेप तय्प एर्दोगानसँग पनि टेलिफोनमा कुराकानी गरेका छन् । -बीबीसी