वनमा गाडेको अवस्थामा बालिकाको नाङ्गो शव भेटियो, बलात्कारपछि हत्या भएको आशंका

केन्द्रभाग मिडिया

विराटनगर ।

आज बिहान वनमा गाडेको अवस्थामा एक बालिकाको शव भेटिएको छ ।

मोरङको लेटाङ नगरपालिका लेटाङ –८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव लालहिरा सामुदायिक वनभित्र गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। करुणाको शव खाल्डो खनेर वनभित्र गाडिएको र नांगो अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ।

प्रहरीका अनुसार विद्यालयबाट घर फर्किने क्रममा बुधबार दिउँसो ४ बजेतिर बालिका बेपत्ता भएकी थिइन् । बालिका जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत रहेको प्रहरीले बताए । बालिका बेपत्ता भएपछि खोजतलासका लागि परिवारका सदस्यले प्रहरीलाई आग्रह गरेका थिए ।

प्रहरीसहित खोजी गर्ने क्रममा खाल्डो खनेर गाड्दै माथिबाट ढुंगाले छोपेको अवस्थामा वनभित्र निवस्त्र अवस्थामा शव फेला परेको बताइएको छ ।प्रहरीका अनुसार बालिकाको शरीरका विभिन्न भागमा चोट छ । बलात्कारपछि हत्या गरेर शव गाडिएको हुनसक्ने आशंका प्रहरीको छ ।

पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा यकिन हुने प्रहरीले जनाएको छ । उनका अनुसार घटनामा संलग्न भएको आशंकामा एक वृद्धसहित दुईजना पुरुषलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ । प्रहरी नियन्त्रणमा रहेका पुरुष ६४ र ४७ वर्षका छन् ।

  • १३ फाल्गुन २०७८, शुक्रबार १४:०३ प्रकाशित