काठमाडौं ।
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेकपा एमालेले एमसीसीजस्तो राष्ट्रिय स्वार्थको विषयलाई आफ्नो दलगत स्वार्थसँग जोड्न नहुने बताएका छन् ।
कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “एमसीसी नेपाली कांग्रेसको मात्र विषय होइन, यो एमालेको पनि विषय हो । समग्र राष्ट्रिय स्वार्थको विषय हो । यही मौका छोपेर एमालेले आफ्नो स्वार्थलाई प्रधान बनाएको छ ।
सभामुखको बहिगर्मन या १४ सांसदमाथिको कारबाहीको सर्त तेर्स्याएको छ । यो त्यति उचित होइन ।” उनले पुरानो गठबन्धन भत्किने र नयाा गठबन्धन बन्ने प्रक्रिया स्वाभाविक भएको पनि औंल्याए । उनले थपे, “सरकारमा पनि रहिरहने, एमसीसीमा मतदान पनि गर्ने दलहरुको द्वैध नीतिका कारण भइरहेको गठबन्धन भत्किने स्थिति छ, नयाँ बन्ने प्रक्रियामा छ ।
अब एमाले र कांग्रेस सहकार्य असम्भव रहेन, सम्भव भनेर सहमति भइसकेको अवस्था पनि छैन । संवाद सुरु भएको छ, निष्कर्ष निस्केको छैन ।”एमसीसीजस्तो राष्ट्रिय मुद्दामा सत्तामा छँदा एउटा, बाहिर छँदा अर्को मापदण्ड बनाउन नमिल्ने पनि कांग्रेस नेता पौडेलको जिकिर छ । उनले भने, “एमसीसी अहिले संसद्मा टेबुल भएको छ ।
संसद्मा रहेका राजनीतिक दलहरुले यो राष्ट्रको हितमा छ कि छैन भन्ने बहसलाई आफ्नो प्राथमिकतामा राख्नुपर्ने हो । तर दलहरुले सत्तामा जाँदा एउटा र नहुँदा फरक फरक मापदण्ड बनाउनु उचित होइन । मौका यही हो भनेर अरु विषय ल्याउनु पनि स्वाभाविक होइन । तर, एमालेका विषयमा छलफलै हुँदैन, नयाँ गठबन्धन बन्दैन भन्ने कुरा छैन ।”
नयाँ गठबन्धन बनेको अवस्थामा सरकारको नेतृत्वमा नेपाली कांग्रेसको दाबी स्वाभाविक हुने पनि उनले बताए । उनले भने, “नयाँ गठबन्धन बन्दा सम्बन्धित घटकहरुले सर्तहरु ल्याउन सक्छन् ।
मुख्य काम एकातिर छाडेर आफ्नो स्वार्थमा मात्र केन्द्रित हुन मिल्दैन । पहिले सर्त पूरा गर्नोस् अनि मात्र एमसीसीबारे छलफल हुन्छ भन्न पनि मिल्दैन । पहिले एमसीसीका बारेमा कांग्रेससँग मिल्ने गरी एमाले संस्थागत धारणा आओस् । अनि मात्र सहमति सम्भव छ ।”