बैंकहरुले दिन छाडे ऋण, तरलता अभाव

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाल राष्ट्र बैंकले कडाइ गरेसँगै बैंकहरुले ऋण दिन छाडेका छन् । गएको माघ महिनादेखि नै राष्ट्र बैंकले ऋण प्रवाहमा कडाइको नीति लिएको थियो । आयात गर्ने वस्तुहरुमा नगद मार्जिन राख्ने व्यवस्था कार्यान्वयनमा ल्याएको राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षामा ऋण कडाइ गर्ने नीति लिएको थियो ।

राष्ट्र बैंकले माघदेखि कर्जामा गरेको कडाइको कारण ऋण प्रवाह ठप्प जस्तो स्थिती देखिएको छ । बैंकरहरुका अनुसार अहिले पनि बैंकमा २ खर्बभन्दा बढीको ऋणको माग बढी छ ।

नेपाल बैकर्स संघले राष्ट्र बैंकमा पठाएको तथ्यांकलाई हेर्दा सबैभन्दा कम कर्जा माघ महिनामा १२ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । अघिल्लो महिना पुसमा ५९ अर्ब, मंसिर महिनामा ५० अर्ब, कात्तिकमा ३६ अर्ब, असोजमा १ खर्ब २६ अर्ब, भदौमा १ खर्ब ८ अर्ब र साउन महिनामा ४३ अर्ब ऋण प्रवाह भएको थियो ।

यस्तै माघ महिनामा बैंकहरुको निक्षेप पनि १३ अर्बले घटेको छ । पछिल्लो ७ महिना तथ्यांकमा वाणिज्य बैंकहरुले १ खर्ब १० अर्बले निक्षेप बढाएर ४ खर्ब ३४ अर्ब रुपैयाँ ऋण दिएका छन् ।

वाणिज्य बैंकहरुको व्यवसाय विस्तार सुस्त हुँदै गएको पाइएको छ । फागुन यता बैंकहरुको निक्षेप संकलन १ अर्ब रुपैयाँले बढेको छ भने कर्जा लगानी ४ अर्ब रुपैयाँले बढेको छ ।

बैंकरका अनुसार माघदेखि नै नयाँ ऋण स्वीकृत भएको छैन । राष्ट्र बैंकले आयातमा नगद मार्जिनको नीति लिएपछि पहिले नै ओभर ड्राफ्ट कर्जा स्वीकृत गरेका व्यवसायीले यसको लिमिट बढाएका हुन् । ७० देखि ७५ प्रतिशतसम्म प्रयोग भएको ओभर ड्राफ्टलाई ८५ प्रतिशतले बढाएको कारण माघ महिना तथा फागुनको पहिलो साता कर्जा बढेको देखिएको बैंकरहरु बताउँछन् ।

बैंकमा तरलता अभाव कायमै
कोरोना भाइरस संक्रमणको त्रास विस्तारै कम हुँदै गएपनि बैंकहरुमा देखिएको लगानी योग्य रकम ९तरलता० अभाव भने अहिलेसम्म पनि जारी छ । फागुन ६ गतेसम्ममा बैंकहरुको कुल निक्षेप संकलन ४३ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ ।

संघको तथ्यांक अनुसार माघ २९ गतेदेखि फागुन ६ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप एक अर्ब रुपैयाँ बराबरले वृद्धि भएको हो । गत माघ २९ गते शनिबारसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप थियो ।

त्यस्तै, यस अवधिमा कर्जा प्रवाह पनि सामान्य बढेको देखिन्छ । गत माघ २९ गतेदेखि फागुन ६ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह चार अर्ब रुपैयाँले बढेको छ । संघको तथ्यांक अनुसार फागुन ६ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसअघि माघ २९ गतेसम्म बैंकहरुले ४१ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

  • ११ फाल्गुन २०७८, बुधबार १४:०१ प्रकाशित