गठबन्धन तोड्ने देउवाको योजना, एमालेसंग सरकारमा भागबण्डा गर्ने सहमति

केन्द्रभाग मिडिया

काठमाडौं ।
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट पारित गर्ने विषयमा सत्तारुढ दलहरुबाट नै धोका पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग सहकार्यको हात अगाडि बढाएका छन् । प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवा जसरी हुन्छ एमसीसी पारित गर्ने पक्षमा छन् ।

उनी एमसीसी पारित गर्नको लागि परि आए गठबन्धन टुक्राउन समेत पछि नपर्ने देखिएको छ । एमसीसीको विषमया सत्तारुढ दलहरुसँग कुरा नमिले पछि उनी एमालेलाई फकाउन लागि परेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री देउवा पटक पटक एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुग्ने गरेका छन् । एमसीसी पारित गर्न सहयोग माग्दै फागुन ५ गते देउवा नै बालकोट पुगेपछि एमाले–कांग्रेस सहकार्यले नयाँ मोड लिएको थियो ।यस अघि देउवा निकट काँग्रेस नेताहरुले पनि एमाले नेताहरुसँग सहकार्यको विषयमा पटक पटक छलफल गर्ने गरेको थिए । मंगलबार साँझा पनि ओली र देउवाबीच भेटवार्ता भएको थियो । ओली देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

उक्त भेटवार्ता करिब २ घण्टा सम्म चलेको थियो । भेटवार्तामा दूई पार्टीबीच हुनसक्ने सहकार्यको मोडालिटीबारे लगभग सहमति जुटेको काँग्रेस उच्च स्रोतले बताएको छ । एमालेसँग सहकार्यको मोडालिटीबारे छलफल गरेको अर्को दिन नै प्रधानमन्त्री देउवा एमसीसीमा सहयोग गर्ने सार्वजनिक प्रतिवद्धता गर्न वा सरकार छोड्न सन्देश दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार पुगेका छन् ।

एस पार्टीले एमसीसीको पक्षमा मतदान नगर्ने निर्णय गरिसकेको छ । माओवादीले समेत एमसीसी टेबुल गर्नु अघिदेखि नै बहानाबाजी गरिरहेको थियो । जसले गर्दा प्रधामन्त्री देउवा विकल्पको खोजी रहेका छन् ।

भेटवार्तामा एमाले अध्यक्ष ओलीले आफ्ना माग पूरा नभई संसदीय प्रक्रियामा सहभागी नहुने अडान लिएको थिए । आफुले कारबाही गरेका माधव नेपाल सहितका सांसदलाई पदमुक्त गर्नुपर्ने वा सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनु पर्ने एमालेले माग राखेको छ । एमालेले राखेका उक्त माग पुरा गर्न प्रधानमन्त्री देउवा सकारात्मक देखिएको स्रोत दाबी गरेको छ । सभामुख सापकोटालाई हटाइसकेपछि एमालेले औपचारिक रूपमा कांग्रेससँग सहकार्य गर्नेछ ।

‘प्रधानमन्त्री देउवा र ओली बिच भएको भेटवार्ता सकारात्मक भयो । नतिजा एक दूई दिनमा नै सार्वजनिक हुन्छ । सहकार्यको विषयमा एमालले केहि माग राखेको छ । ती माग पुरा गरि सहाकार्य गर्न देउवा तयार हुनुहुन्छ ।’ स्रोतले भन्यो ।

एमसीसीको विषयमा सहमति नजुटेपछि अहिलेको सत्तागठबन्धन टुट्ने सम्भावना बढेको छ ।  प्रारम्भिक सहमतिअनुसार एमाले, कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनमा सहमति हुने भएका छन् । यी दल मिलेर बनेको सत्ता समीकरणमा दुईतिहाइ बहुमत हुने भएको छ ।

एमालेले केन्द्र सरकारमा सहभागी नहुने तर समर्थन गर्ने बुझीएको छ । तर ४ वटा प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउनु पर्ने एमालेले माग राखेको छ ।  प्रदेश १, बागमती, लुम्बिनी र कर्णाली सकारको नेतृत्व गर्न पाउनु पर्ने एमालको अडान छ ।

  • ११ फाल्गुन २०७८, बुधबार ११:२५ प्रकाशित