नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठक आजदेखि

केन्द्रभाग मिडिया

काठमाडौं ।

विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बुधबारदेखि सुरु हुँदैछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार कोरोनाका कारण प्रत्यक्षरूपमा हुन नसकेको बैठक यसपटक भौतिक रुपमा नै हुन लागेको हो । विसं २०७६ असोज २७ र २८ गते संयुक्त निर्देशक समितिको बैठकमा भारतको बैंग्लोर भएको थियो ।

यसअघिका अनौपचारिक बैठक श्रव्य दृश्यका माध्यमबाट आयोजना गरिएको थियो । यस बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा मन्त्रालय मातहतका निकायका अधिकारी सहभागी हुनेछन् ।

यस्तै, भारतका ऊर्जा सचिव आलोक कुमार नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ । बुधबारको बैठकमा सह सचिवस्तरीय समितिले एजेण्डा तय गर्नेछ । बिहीबार भने सचिवस्तरीय बैठक हुनेछ ।

बैठकमा नेपालका तर्फबाट विद्युत् व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्ताव गर्ने तयारी गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले आगामी मनसुनदेखि झण्डै ८५० मेगावाट विद्युत् भारत निर्यात गर्ने प्रस्ताव गरेको छ ।

निर्यातको अवसर नपाउँदा प्राधिकरणले गत मनसुनमा झण्डै पाँच अर्ब बराबरको बिजुली खेर गएको बताएको छ । यस्तै, बैठकमा नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल गोरखपुरको थप प्रगतिका बारेमा छलफल हुनेछ ।

  • ११ फाल्गुन २०७८, बुधबार ०९:५७ प्रकाशित