पोखरा ।
पोखरामा गत आइतबार परेको भीषण असिना पानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ । बाक्लो असिना पानीका कारण केही पशुपन्छी मरेका छन् भने फलेका तरकारी तथा फलफूलसहित बालीनाली नष्ट भएका छन् ।
पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको र अन्य वडामा सामान्य क्षति भएको बताए । कडरियाले राज्यले किसानलाई दिएको बिमा सुविधा सदुपयोग गरेमा यसप्रकारका क्षतिबाट राहत पुग्नसक्ने बताए । उनले असिनाका कारण ती वडाहरुमा तरकारी बाली, नगदे बाली, फलफूल, तोरी, आलु लगायतका बालीमा पूर्ण क्षति पुगेको जानकारी दिए । उनकाअनुसार असिना परेको दोस्रो दिनसम्म पनि सम्पूर्ण रुपमा पग्लिएको छैन ।
असिनाकै कारण पोखरा महानगरपालिका वडा नम्बर ११ मा फलमान गुरुङले सञ्चालन गर्दै आएका उदय अर्गानिक कृषि फार्मका २ वटा भैँसी मरेका छन् । फार्मको टिनमा असिनाको भार पर्दा सो भाँचिएर थिचेको कारण भैँसी मरेका हुन् । त्यस्तै तरकारीका टनेलहरु भत्किएका छन् । गुरुङका अनुसार फर्ममा २० लाख बराबरको क्षति भएको छ ।
यस्तै, पोखरा वडा ११ मा केहरमान गुरुङले सञ्चालन गर्दै आएका गोर्खाली मनकामना नर्सरीमा पनि ठूलो क्षति पुगेको छ । उनले ४ रोपनी क्षेत्रफलमा लगाएको विभिन्न जातका फूलहरु टनेलसहित भाँचिदा २० लाख बराबरको क्षति पुगेको बताए ।
यसैगरी पोखरा ११ को कृषक मोतीराम भट्टराईको पनि तराकारी खेतीमा ठूलो क्षति भएको छ । उनले सरकारले राहत दिएर भएपनि किसानहरुलाई सहयोग गरिदिन आग्रह गरे ।
पोखरा महानगरका कुल ३३ वडामध्ये २ हजार १ सय ८१ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । फलफूल ३ सय २० हेक्टर क्षेत्रफलमा, आलु १ हजार २ सय ५३ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ ।
पोखरामा गत फागुन ८ गते आइतबार दिउँसो भीषण असिनापानी परेको थियो । असिनापानीले पोखराको सडक केही समय अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, फूलबारी, बगर, अमरसिंह चोक, रानीपौवा भागमा असिनाले सडक नै छोपिएको थियो । सडकमा परेको असिना हटाउन डोजरको समेत प्रयोग गरिएको थियो । असिनाले गुडिरहेका सवारी साधन रोकिएका थिए ।