एमसीसी अनुमोदन गर्नु महाभूल हुनेछ : विप्लव

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले एमसीसी अनुमोदन गर्ने गल्ती गरेमा नेपाली कांग्रेस र त्यसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अकल्पनीय परिणाम भोग्ने चेतावनी दिएका छन् ।

नेता चन्दले भने, “सिद्धान्ततः हामी विदेशी सहयोग, अनुदानको विरोधी होइनौं । तर राष्ट्रघाती प्रावधान नभएको भए एमसीसी देशको हितमा उपयोग गर्न पनि सकिन्थ्यो । तर विश्व राजनीतिको अन्तरविरोधमा खेल्ने र नेपाललाई स्वार्थअनुकूल प्रयोग गर्न खोजेकाले यसको लोकतन्त्रवादी र प्रगतिशील शक्ति लामो समयदेखि प्रतिरोधमा छन् ।

यथास्थितिमा एमसीसी अनुमोदन गर्ने गल्ती गरेमा नेपाली कांग्रेसले दुर्दशा भोग्नुपर्ने हुन्छ । र त्यसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अकल्पनीय परिणाम भोग्ने भोग्ने सम्भावना हुन्छ । देशले पनि दुःख पाउँछ ।”

एमसीसीको विरोध कम्युनिस्ट मात्र नभएर गैरकम्युनिस्ट शक्तिले पनि गरिरहेको उनको दाबी छ । चन्दले थपे, “एमसीसी अगाडि डलर देखाएर पछाडि बन्दुक र हैकम जमाउने दाउमा छ । तर यसलाई राजनीतिक रंग दिन खोजेको देखियो । पहिलो कुरा त कम्युनिस्ट र गैरकमयुनिस्टको कुरा होइन । यो कम्युनिस्ट र कांग्रेसको कुरा पनि होइन ।

यो त तीन करोड नेपाली जनताको स्वाधीनता र सार्वभौमसत्तासँग जोडिएको मुद्दा हो । यसको विरोधमा कम्युनिस्टमात्र होइनन्, नेपाली कांग्रेसभित्रै पनि असन्तुष्टि छ । यो आन्दोलन कांग्रेसविरुद्ध होइन । विदेशी हस्तक्षेप विरुद्धमा हो । हामीले झगडा गर्ने मात्र होइन, राष्ट्रिय मुद्दामा मिल्न पनि सक्नु पर्यो ।”

सरकार बसेका तर सडक प्रदर्शनमा उत्रिएका माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पनि उनले एमसीसी अनुमोदन गर्नु महाभूल हुने चेतावनी दिए । उनले थपे, “जनताको चाहना र देशको हित मुख्य कुरा हुन्छ । प्रचण्ड र माधवकुमार नेपालजीमा अहिले द्वैधवादी र अवसरवादी चरित्र देखा परेको छ ।

प्रचण्डले शान्ति प्रक्रिया सुरु भएदेखि नै अन्तिममा गएर पार्टी र देशको हितलाई छाड्ने गल्ती गर्नुभएको छ । सामान्य अवस्थामा विरोध गर्ने, निष्कर्षमा पुर्याउन नसक्ने हो भने त्यसको औचित्य रहँदैन । एमसीसीमा पनि सरकार देश र जनताको हित छाडन् महाभूल हुनेछ । उनीहरुलाई राष्ट्रघात गर्ने अधिकार छैन ।”

  • ९ फाल्गुन २०७८, सोमबार ११:२६ प्रकाशित