सवारी चालक अनुमति पत्रमा नयाँ निर्देशिका : गण्डकीमा प्रयोगात्मक परीक्षा आजदेखि सुरु

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशमा सवारी चालक अनुमति लिनका लागि लिखित तथा प्रयोगात्मक परीक्षाको नयाँ निर्देशिका लागु भएसंगै आज यसको पहिलो प्रयोगात्मक परीक्षा हुँदैछ ।

प्रयोगात्मक परीक्षाको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले सुभारम्भ गर्ने कार्यक्रम छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र गण्डकी प्रदेशका प्रमुख प्रेम सुवेदीलेका अनुसार पहिलो प्रयोगात्मक परीक्षाको आरम्भ विहान ९ः३० बजे मन्त्री खड्काले गर्नेछन् ।

निर्देशिका लागु भएसंगै यो महिनाको सुरु अर्थात १ फागुन देखि लाइसेन्स लिन आवेदन दिएकाले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशीका २०७७ (संसोधनसहित) अनुरुप उत्तीर्ण हुनुपर्ने छ ।

कार्यविधिमा परीक्षार्थीहरुले उत्तीर्ण हुन लिखितमा ६० प्रतिशत र प्रयोगात्मक परीक्षामा न्युनतम ७० प्रतिशत अंक ल्याउनुपर्ने उल्लेख छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुरुप नयाँ मापदण्ड लागु गरिएको हो ।

मापदण्ड अनुरुपको पहिलो लिखित परीक्षा ६ फागुनमा भएको छ भने पहिलो प्रयोगात्मक परीक्षा आज हुन लागेको हो ।

  • ८ फाल्गुन २०७८, आईतवार ०८:५१ प्रकाशित