सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसी र गठबन्धनकै भविश्यको निर्णय हुने !

केन्द्रभाग मिडिया

पोखरा ।
अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबल गर्ने / नगर्ने विषयमा निर्णय गर्न आज सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठकसँगै गठबन्धनको भविष्य पनि तय हुने भएकाले आजको बैठक ‘निर्णायक’ मानिएको छ ।

सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।

बिहान १० बजे बैठक बस्ने तय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसअघि, बिहीबार बसेको बैठक निष्कर्षविहीन बनेको थियो । नेताहरू आफ्नो पूर्ववत् अडानबाट टसमस नभएपछि निष्कर्ष ननिस्किएको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी संसद्मा टेबल गरेरै संसदीय प्रक्रियाबाट टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए ।

जवाफमा नेकपा (माओवादी केन्द्र) का नेताहरूले पहिले संसद् विनाअवरोध सञ्चालन हुनुपर्ने अडान राखेका थिए । संसद्को गतिरोध अन्त्य नभएसम्म एमसीसी टेबल हुन नसक्ने माओवादीको अडान छ ।

आजै दिउँसो १ बजे बस्ने गरी संसद् बैठक बोलाइएको छ । बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन ।

  • ६ फाल्गुन २०७८, शुक्रबार ०७:३५ प्रकाशित