पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध प्रदर्शनसहित पोखरामा आमसभा गर्ने भएको छ । एमसीसी लगायत विभिन्न विषयमा भएका भ्रष्टाचारको विरुद्ध आउँदो शनिबार ७ फागुनमा पोखराको पृथ्वीचोकबाट विरोध प्रदर्शनसहित चिप्लेढुंगामा पुगेर आमसभा गर्ने राप्रपाले जानकारी दिएको छ ।
बिहिबार पोखरामा पत्रकार भेटघाट कार्यक्रम मार्फत विरोध प्रर्दशनसहितको आमसभा गर्ने राप्रपाले जानकारी दिएको हो । राप्रपाका केन्द्रीय सदस्य जयलाल पुनले आमसभामा पार्टीका अध्यक्ष राजेन्द्र लिंग्देन, वरिष्ठ नेता एवं निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहानी, उपाध्यक्षहरु विक्रम पण्डे र हेमजंग गुरुङ, अभियान्ताहरु पुष्पराज पुरुष, ज्ञानेन्द्र शाही, अभिषेक जोशी लगायतका नेताहरुले आमसभालाई संबोधन गर्ने जानकारी दिए ।
उनले एमसीसी राष्ट्रहित विपरित रहेकाले राष्ट्रवादी आन्दोलनमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे र बामपन्थी नेता राधाकृष्ण मैनाली लगायतका कम्युनिष्ट नेताहरुसंग कार्यगत एकता रहेको दाबी समेत गरे ।
राप्रपा गण्डकी प्रदेशका संयोजक पञ्चराम गुरुङले गणतन्त्रलाई नेताहरुले माघेर खाने भाँडोको रुपमा उपयोग गरेको आरोप लगाए । देशमा भ्रष्टाचार र कुशासन मौलाएको भन्दै राप्रपाको प्रदर्शन र आमसभामा सहभागी हुन आह्वान गरे ।
राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले राष्ट्रघाती एमसीसी र भ्रष्टाचारका विरुद्ध एकतावद्ध हुनुपर्ने बेला आएको धारणा राखे ।