काठमाडौं।
सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लगाएपछि नेपाल बार एसोसिएसनले दलहरुको निर्णयको स्वागत गरेको छ।
कोरोना संक्रमण जोखिमको कारण केही समयदेखि जबरा विरुद्धको आन्दोलन थाती राखेको बारले आजैबाट पुन आन्दोलन थाल्ने तयारी गरेको थियो ।
यसअघि बारबार पदबाट राजीनामा दिनुपर्ने नत्र महाभियोग लगाउनुपर्ने भन्दै शिर्ष नेताहरुलाई आग्रह गर्दै आएको बारले दलहरुले अन्तत् महाभियोग लगाउने गरेको निर्णय सकारात्मक भएको भन्दै स्वागत गरेको हो ।
बारका महासचिव लीलामणी पौडेलले भनेका छन्, ‘महाअभियोग लगाउनु सकारात्मक हो । यसका लागि सांसदज्यूहरुलाई धन्यवाद दिन चाहन्छौं । अब सेवाग्राहीलाई अफ्ठेरो नपर्ने गरी आन्दोलनको स्वरुप परिवर्तन हुन्छ । प्रधानन्यायाधीशज्यू निलम्बनमा परिसक्नुभयो ।’
उनले न्यायालय शुद्धीकरणको अभियान भने जारी रहेको बताए । बार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै विगत चार महिनादेखि आन्दोलनमा छ । बारले जबराको सम्पत्ति छानविनको माग समेत गरेको छ ।