आजदेखी गण्डकीमा सार्वजनिक सवारीमा नयाँ भाडादर (भाडादरसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा फागुन १ अर्थात आजदेखी सार्वजनिक सवारीमा बढेको नयाँ भाडादर लागु हुने भएको छ ।

आजदेखि नगर बसमा चढ्दा यात्रुले पहिलो तीन किलोमिटरभित्र २० रूपैयाँ र तीन किलोमिटरपछि प्रति किलोमिटर साढे दुई रूपैयाँ भाडा थपेर तिर्नुपर्नेछ । २० किलोमिटरभन्दा बढी सवार गरेमा भने प्रति किलोमिटर साढे दुई रूपैयाँको हिसाब हुने छ ।

ट्याक्सीमा चढ्दा फ्ल्याग डाउनबापत ८० रुपैयाँ तिरेर दुई सय मिटरभित्र चल्दा थप शुल्क लाग्नेछैन । दुई सय मिटर कटेपछि प्रत्येक दुई सय मिटरमा थप १० रुपैयाँ लाग्ने सूचनामा उल्लेख छ । फ्ल्याग डाउन र पल्सको नियम १५ किलोमिटरभित्र गुड्दामात्रै लागु हुनेछ । १५ किलोमिटरमाथि प्रतिकिलोमिटर ३७।५ रुपैयाँ थप शुल्क लाग्ने छ ।

जिपमा प्रति किलोमिटर प्रति यात्रु साढे पाँच रूपैयाँ, एक जिल्लाबाट अर्को जिल्ला गुड्ने बसमा प्रति किलोमिटर ३।१० रूपैयाँ निर्धारण गरिएको छ । ट्रकमा सामान ओसार्न प्रति किलोमिटर अब प्रति टन ११.७२ रूपैयाँ लाग्ने छ ।

सरकारले भाडा सिफारीस समितिको प्रतिवेदनका आधारमा नयाँ भाडादर कायम गरेको थियो । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले जिप, बस, नगर बस, ट्रक र ट्याक्सीको भाडा सार्वजनिक गरेकको हो।

सरकारले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठको संयोजकत्वमा गत असोजमा १० सदस्यीय प्रदेश भाडा सिफारिस समिति बनाएको थियो । त्यो समितिले १२ पुसमा बुझाएको प्रतिवेदनको आधारमा नयाँ भाडा लागु भएको हो ।

  • १ फाल्गुन २०७८, आईतवार ०८:५७ प्रकाशित