काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले फागुन १ गतेदेखि १८ वर्षमाथिका सबैलाई बुस्टर दिइने बताएका छन् । आज शुक्रबार स्वास्थ्य मन्त्री खतिवडाले मन्त्रालय समाले पछिको सय दिनको कार्य प्रगतीको विवरण सार्वजनिक गर्दै सो बताएका हुन् ।
यस्तै २०७९ वैशाख मसान्तसम्म लक्षित जनसंख्याका सबैलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप प्रदान गर्ने लक्ष्य रहेको उनले बताए । वैशाख मसान्तसम्ममा लक्षित जनसंख्याका सबैलाई खोप प्रदान गर्ने उनको दाबी छ ।
उनले लक्षित जनसंख्यालाई खोप दिनका लागि खोपको सुनिश्चितता भइसकेको पनि दाबी गरेका छन् । उनका अनुसार माघ २७ गतेसम्म १२ वर्षमाथिको लक्षित जनसंख्याको ७७ प्रतिशतलाई पहिलो मात्रा र ६९ प्रतिशतलाई पूर्ण खोप प्रदान गरिएको पनि जानकारी दिएका छन् ।
नेपालले हालसम्म ४ करोड ६५ लाख ७० हजार ७२० डोज खोप प्राप्त गरिसकेको छ भने नागरिकलाई ३ करोड ४८ लाख २५ हजार ६०१ डोज खोप लगाइसकेको छ ।