एमसीसीमा माधव र प्रचण्ड बने तगारोः विकल्प खोज्दै देउवा!

केन्द्रभाग मिडिया

काठमाडौं।

एमसीसी सम्झौताबारे अमेरिकाले तारन्तार ताकेता गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा परेका छन् ।

सत्ता गठबन्धन भित्रैका पार्टीले संशोधन बिना हालकै परिस्थितीमा एमसीसी पास हुन नसक्ने भन्दै अडान लिएपछि देउवा चेपुवा परेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले हालकै परिस्थितीमा एमसीसी पास हुन नसक्ने बताउँदै आएका छन् ।

सत्तामा नरहेका अन्य केही दल, संघसंस्था,नागरिक समाजले एमसीसी सम्झौता खारेजको माग गर्दै विरोध प्रर्दशन गर्दै आइरहेका छन् ।
तर प्रधानमन्त्री शेरबहादुर देउवाले भने विकल्प खोजेरै भएपनि एमसीसी संसदमा टेबल गर्ने तयारी गरेका छन् ।

देउवालाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखलाई हटाए आफुहरुले एमसीसी पारितमा सहयोग गर्ने भन्दै अफर नै गरेका छ ।यस्तो परिस्थितीमा सहमतिमा एमसीसी पास नभए देउवाले गटबन्धन तोडेर वा सभामुखलाई हटाएरै भए पनि पास गराउन सक्ने काँग्रेस निकट स्रोतको अनुमान छ ।

एमसीसीमा सहमति जुटाउनकै लागि आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक देउवाको आग्रहमा स्थगित भएको बताइएको छ।
सभामुख सापकोटाले मंगलबार अबेर सूचना निकालेर स्थगित गरेका थिए।

बुधबार नै बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी टेबल गर्न छलफल गर्ने तयारी भएको थियो। संसद स्थगित भएपछि फेरी एक पटक प्रधानमन्त्रीले गठबन्धनको बैठकमा एमसीसीबारे निर्णायक छलफल गर्ने तयारी गरेका छन्।

एमसीसीबारे गठबन्धनबीच सहमति नजुटेपछि सभामुख सापकोटाले संसद स्थगित गरेका हुन्। सभामुख सापकोटाले सरकारको आग्रहमा बैठक स्थगित गरेको भनेका छन्।

  • २६ माघ २०७८, बुधबार १३:४६ प्रकाशित