वामदेवले भने,‘एमसीसीले नेपालको अहित गर्छ’: फिर्ता लैजान अमेरिकालाई आग्रह

केन्द्रभाग मिडिया

काठमाडौं ।

विवादित बनेको एमसीसी फिर्ता लैजान राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अमेरिकी सरकारलाई आग्रह गरेका छन् ।

नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका गौतमले एमसीसीका कारण जनमत विभाजित हुन पुगेको र यो संसदबाट पारित हुने सम्भावना कम रहेको भन्दै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता गर्न अमेरिकी सरकारलाई आग्रह गरेका हुन् । उनले विवादित परियोजनाले नेपालको हित नगर्ने समेत बताएका छन् ।

मंगलबार बिहान विज्ञप्ति जारी गर्दै गौतमले भनेका छन्, ‘अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना भएको स्थिति देखिएको छ । नेपालको अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकार र संसदले पनि अनुमोदन गर्नसक्ने अवस्था देखिन्न । यस्तो अवस्थामा म नेपाल सरकार र अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’

नेपालको हितका लागि एकपक्षीय रूपमा भए पनि अमेरिकी सरकारले परियोजना फिर्ता गर्नुपर्नेमा पनि गौतमको जोड छ ।

  • २५ माघ २०७८, मंगलवार १४:२८ प्रकाशित