विदेशस्थित नेपाली राजदूतावासबाट पहिलोपटक ईपासपोर्ट जारी

केन्द्रभाग मिडिया

dav

काठमाडौं ।

विदेशस्थित नेपाली राजदूतावासबाट पहिलो पटक विद्युतीय राहदानी (इपासपोर्ट) जारी भएको छ । सोमबार कतारको दोहास्थित नेपाली राजदूतावासबाट पहिलो पटक लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी जारी गरिएको हो । यो नै विदेशस्थित राजदूतावासबाट गरिएको पहिलो सफल परीक्षण हो ।

योसँगै आजबाट विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले बुकिङ समेत खुला गरेको छ । यद्यपि, सुरुको एक हप्ताका लागि सीमित मात्रामा बुकिङ खुल्ला गरिएको राजदूतावासले जानकारी दिएको छ ।

यस्तै, अन्य खाडी मुलुकहरु र मलेशियामा रहेका नेपाली नियोगहरूमा समेत विभागबाट विद्युतीय राहदानीको लागि आवश्यक पर्ने उपकरणहरु पठाइ सकिएको विभागले जनाएको छ । उक्त सामानहरु जडान हुनासाथ केही दिन भित्रै विद्युतीय राहदानीको सेवा अन्य मुलुकहरुमा समेत सुरु हुने विभागको भनाइ छ।

यी बाहेका अन्य अमेरिकी तथा युरोपेली मुलुकहरुमा समेत रहेका सबै नेपाली नियोगहरूमा उपकरणहरू पठाउने कार्य भइरहेको र केही हप्ताभित्र सेवा सञ्चालन गर्ने कार्यक्रम रहेको विभागले जानकारी दिएको छ ।

  • २४ माघ २०७८, सोमबार १४:५६ प्रकाशित