आफुनिकट नेतासँग छुट्टै छलफल गर्दै कमल थापा : नयाँ पार्टी खोल्ने तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले आज आफु निकटका नेतालाई छुट्टै छलफलका लागि बोलाएका छन् ।

थापाले नयाँ पार्टी खोल्ने तयारीका लागि आफु निकट नेताहरुसँग छलफल गर्न लागेको बताइएको छ। थापाले आफ्ना माग सम्बोधनको लागि पार्टीलाई आग्रह गरे पनि सम्बोधन हुने छाँटकाँट नदेखेपछि नयाँ ढंगले अगि बढ्ने तयारी थालेका हुन् ।

माघ मसान्तसम्म आफ्ना माग सम्बोधन नभए फागुनमा राजसंस्थाको नारा छाडेर हिन्दुवादी एजेण्डासहितको पार्टी घोषणा गर्ने थापाको तयारी रहेको छ।
गत मंसिरमा भएका एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएसँगै पार्टी गतिविधि बहिष्कार गर्दै आएका थापाले अलग्गै राजनीतिक यात्रा थाल्न छलफल अघि बढाएका हुन्।

एकता महाधिवेशनपछि पहिलो पटक अध्यक्ष लिङ्देनसँग आफ्नै निवासमा छलफल गरेका थापाले सोमबार नयाँ पार्टी खोल्ने पूर्वतयारीस्वरुप बैठक बोलाएका छन्।

थापाले नयाँ पार्टी खोल्ने तयारीस्वरुप नवदुर्गा पार्टी प्यालेस सुकेधारामा आफूनिकट केन्द्रीय सदस्य र पदाधिकारीहरूलाई छलफलका लागि बोलाएका हुन्।

एकता महाधिवेशनमा पराजित भएपछि थापाले त्यसको दोष पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासलाई दिएका थिए। उनले लिङ्देनसँग पराजित भएपछि गत मंसिर १७ गते महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप छानबिन माग गर्दै राप्रपामा निवेदन दिएका थिए।

तर अध्यक्ष लिङ्देनले निर्मल निवासबारे कुनै किसिमको छानबिन हुन नसक्ने अडान लिएका छन्।

  • २४ माघ २०७८, सोमबार १३:२२ प्रकाशित