यथास्थितिमा एमसीसी पारित हुँदैन : प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे तत्काल निर्णय गर्न कठीन रहेको बताएका छन्। पार्टीको कर्णाली प्रदेश बैठकलाई भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘एमसीसीबारे तत्काल निर्णय गर्न कठीन छ। एमसीसीका विभिन्न बुँदाहरुमा धेरै जनाको असहमति रहेको छ। ती बुँदाहरुलाई संसोधन गरेर हुन्छ या कसरी हुन्छ, छलफल र विमर्ष गरेरमात्र यसबारे निर्णय गर्न सकिन्छ,’ बैठकमा उनले भने।

उनले एमसीसीमा संशोधन गर्ने बुँदाहरुबारे सत्तारुढ गठबन्धन दलका नेताहरुबीच छलफल भइरहेको बताए। ‘कुन बुँदा संशोधन गर्ने भन्ने विषयबारे पनि छलफल भइरहेको छ। छलफलपछि बल्ल निचोड निस्किने हो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै माओवादीका एक नेताले भने।

प्रचण्डले कुनै पनि हालतमा सत्ता गठबन्धन नटुट्ने बताए। ‘प्रतिगमनको खतरा व्यापक छ। अहिले जसरी पनि गठबन्धन भत्काउन खोजिएको छ। तर निश्चित कार्यको लागि गठबन्धन बनेकाले यो अहिल्यै टुट्दैन,’ उनले भने।

  • २० माघ २०७८, बिहीबार १७:२२ प्रकाशित