सभामुख सापकोटालाई हटाउने पक्षमा उभिए महन्त ठाकुर

केन्द्रभाग मिडिया

काठमाडौं ।
सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने भित्री तयारीले गति लिएको छ । उनलाई हटाउन लोकतान्त्रिक समाजवादी पार्टी तयार भएको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार लोसपा अध्यक्ष महन्थ ठाकुरले सभामुख हटाउने प्रस्ताव आए साथ दिने आश्वासन दिइसकेका छन् । यसबारे उनले नेकपा एमालेको नेतृत्वसँग पनि विभिन्न माध्यमले छलफल बढाएका छन् ।

सभामुख हटाउने प्रस्ताव ल्याउन नेकपा एमालेले आन्तरिक तयारी गरिरहेको छ । एमालेले काँग्रेसले साथ दिने निश्चित भए सभामुख हटाउन एक चौथाई सांसदको समर्थनमा प्रस्ताव दर्ताको तयारी समेत गरिरहेको छ ।

एमाले नेता टोपबहादुर रायमाझीले सभामुखलाई हटाउने प्रस्ताव ल्याए आफूहरुको साथ रहने बताइसकेका छन् । यसले राजनीतिवृत्तमा तरंग ल्याएको छ ।

सभामुखविरुद्ध हटाउने प्रस्ताव आएमा पारित हुन संसदको हाल रहेको सदस्यको दुई तिहाई समर्थन आवश्यक पर्छ । नेपाली काँग्रेस, नेकपा एमाले, लोसपाको सांसद संख्याले मात्र दुई तिहाई पुग्दैन । यसका लागि जसपाको पनि साथ लिनुपर्ने हुन्छ ।

एमाले र लोसपा सभामुख हटाउन तयार भइसकेका छन् । काँग्रेसले भने यसबारे केही बोलेको छैन । एमसीसीमा अवरोध भएमा सभामुख हटाउने देखि गठबन्धन तोड्ने सम्मको कदम चाल्न काँग्रेस तयार हुने देखिएको छ ।

  • २० माघ २०७८, बिहीबार १६:१७ प्रकाशित