सुरक्षा निकायलाई निर्वाचनका लागि तयार रहन गृहमन्त्रीको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

आगामी निर्वाचनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् ।

केन्द्रीय सुरक्षा समितिको बैठकमा आसन्न स्थानीय तहको निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्न चारवटै सुरक्षा निकायलाई खाँणले यस्तो निर्देशन दिएका हुन । खाँणको अध्यक्षतामा बुधबार दिउँसो मन्त्रालयमा सुरक्षा समितिको बैठक बसेको थियो।

निर्वाचन आयोगले सरकारलाई आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ । उक्त प्रस्तावमा सरकारले निर्णय गरिसकेको छैन । तर, सुरक्षा निकायलाई तयार रहन र आवश्यक सुरक्षा रणानीतिबारे छलफल गर्न बैठक बसेको थियो ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलको उपस्थिति थियो ।

  • १९ माघ २०७८, बुधबार १७:०७ प्रकाशित