त्रिविका स्थगित परीक्षाहरू फागुन १ गतेदेखि

केन्द्रभाग मिडिया

काठमाडौं।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका अधिकांश परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय, बल्खुले बुधबार सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो ।

जसअनुसार त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७८ सालमा सञ्चालन हुने शिक्षा र मानविकी संकायका तीन वर्षे स्नातक तहको नियमित तथा आंशिक परीक्षा पुनस् सञ्चालन गरिने भएको हो । यस्तै प्राइभेटतर्फका परीक्षार्थीहरूको परीक्षा पनि सञ्चालन हुने बताइएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित परीक्षार्थीलाई आफूले परीक्षा दिनु पर्ने कोड र विषयबारे यकिन गरेर मात्र परीक्षा दिनु पर्ने भन्दै सचेत गराएको छ । अन्यथा परीक्षण नियन्त्रण कार्यालय जवाफदेही नहुने भन्दै परीक्षार्थीहरूलाई सचेत गराएको हो । यस्तै परीक्षा फारम छुटेका विद्यार्थीले सम्बन्धित क्याम्पसमा निर्धारित समयमै अतिरिक्त दस्तुर बुझाएर फारम भर्न पाउने सूचनामा उल्लेख छ ।

परीक्षा नियन्त्रण कार्यालयले फारम भर्न छुटेका परीक्षार्थीहरूलाई दोब्बर दस्तुरसहित २०७८ माघ २१ गते सम्ममा परीक्षा आवेदन फारम भराई क्याम्पसहरूले २०७८ माघ २५ गतेभित्र र प्राइभेट परीक्षार्थीहरूले २०७८ माघ २४ र २५ गतेका दिन आवश्यक प्रक्रिया पुर्‍याई परीक्षा आवेदन फारम सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाइसक्न आग्रह गरेको छ।

  • १९ माघ २०७८, बुधबार १६:५५ प्रकाशित