पोखरा ।
जेष्ठ नागरिकका हक हितमा कृयाशिल सस्था जेष्ठ नागरिक सरोकार समाज नेपालले एक सय बर्ष माथिका जेष्ठ नागरिकलाई घरघरमै पुगि सम्मान गर्ने अभियान थालेको छ ।
संस्थाले जेष्ठ नागरिक प्रतिको सामाजिक उत्तरदायित्व समेत वहन गर्दै एक सय बर्ष माथिका नागरिकलाई सम्मान गर्दै उनीहरुबाट आशिर्वाद लिने अभियानलाई संस्थागत रुपमै अघि बढाएको हो । दोसल्ला र सम्मानपत्रले सम्मान गर्ने व्यवस्था छ ।
ज्येष्ठ नागरिक समाजका गौरव रहेको र उनीहरूका अनुभव पछिल्लो पुस्ताका लागि प्रेरणा दायक हुने कुरालाई आत्मसात गर्दै उनीहरूको आत्मसम्मानका लागि पनि सम्मान जरुरी ठानी यो अभियान सुरु गरिएको समाजका अध्यक्ष.भक्त बहादुर श्रेष्ठले बताए ।
उनका अनुसार २०७२ सालबाट शुरु गरिएको उक्त अभियान अन्तर्गत हालसम्म एकसय बर्षदेखि ११५ बर्षसम्मका समाजका १२ जना आमा बुवालाई उनीहरुको घरमै पुगेर सम्मान गरिंदै आएको छ ।
यसैक्रममा मादी गाउँपालिका तारकांङका १०१ बर्षिय वामदेव सापकोटा, पोखरा १० १०३ बर्षिय कुलबहादुर गुरुङ, पोखरा १३ आर्वाका १०२ बर्षीय टिकाराम बराल, पोखरा २७ कन्दनिडाँडास्थित पूर्व सभामुख तारानाथ रानाभाटकी १०१ बर्षिय आमा खिमकुमारी रानाभाटलाई सम्मान गरिएको संस्थाका उपाध्यक्ष केशव प्रसाद ढकालले बताए ।
सम्मानितमध्ये सुनकान्छी लामिछाने, कुलबहादुर गुरुङ र मानकुमारी श्रेष्ठ अहिले पनि जिवितै छन् भने अन्य सम्मानित समाजका अग्रज आमा बुवाको स्वर्गारोहण भई सकेको छ ।
१०४ बर्षीय गौतमलाई निवासमै पुगेर सम्मान
पोखरा महानगरपालिका वडा नं. ७ माछापुच्छ्रे टोल निवासी १०४ बर्षीय इन्द्रकला पाध्या गौतमलाई सोमवार सम्मान गरिएको छ । जेष्ठनागरिक सरोकार समाज नेपालले सम्मान गरेको हो ।
उनको निवासमा आयोजित एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष भक्तबहादुर श्रेष्ठले अग्रज आमा गौतमलाई सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै सुस्वास्थ्य र दिर्घायुको कामना गरे ।