तत्काल दूधको मूल्य बढाउन किसानको माग

केन्द्रभाग मिडिया

चितवन ।

चितवनका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो ।

 १५ देखि २० रुपैयाँसम्म बढाउनुपर्ने उनीहरुको माग छ । सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले सरकारले यही माघ १ गतेदेखि मूल्य बढ्छ भने पनि अहिलेसम्म नबढेकाले आन्दोलनको तयारीमा लागेको बताए । सरकारले एक लिटरमा  १० रुपैयाँ मूल्य बढाएर किसानलाई सात र डेरी उद्योगीलाई  तीन रुपैयाँ दिने तयारी गरेको बताइएको छ ।

उनका अनुसार हाल दूधको मूल्य किसानले सरदर लिटरमा ५२.५० पर्ने गरेको छ । पशुलाई खुवाउने आहारको मूल्य अत्यधिक वृद्धि भएकाले यो मूल्यले लागत नउठ्ने उनले बताए । अध्यक्ष न्यौपानेले भने, ‘दाना, चोक्कर, पराल र औषधिको मूल्य अत्यधिक बढेकाले अहिले उत्पादन लागत नै प्रतिलिटर  ६३ रुपैयाँ किसानको पर्ने गरेको छ । त्यसैले किसानलाई लाभ पुग्नेगरी मूल्य बढाउनुपर्छ ।’ सरकारले तीन वर्षदेखि दूधको मूल्य बढाएको छैन ।

हाल जिल्लामा ६३ प्रतिशत दुग्ध उत्पादक किसान छन् । यसबाट दैनिक दुई लाख ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । ४३ प्रतिशत दूध बाहिरी जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की र मकवानपुरमा जाने सङ्घले जनाएको छ । सङ्घले जारी गरेको विज्ञप्तिमा पशुको उपभोग्य बस्तुमा १० देखि १५ प्रतिशत वृद्धि भएको जनाइएको छ ।

  • १७ माघ २०७८, सोमबार १३:३० प्रकाशित